
कोही महिना अगाडि (डिसेम्बर २०१९) चीनमा कोरोना भाइरसको संक्रमण देखियो, त्यसको केही समयपछि नेपालमा पनि एक जना संक्रमित भेटियो । त्यही बेला नै हामीले संसदबाट भन्यौं कि ‘पूर्वतयारी गर्दै गर्दा एउटा राष्ट्रिय कार्ययोजना बनाऔं, सिंगो नेपाल त्यो कार्ययोजनाबाट बाँधिनुपर्छ ।’
त्यो भनेको एउटा समिति बनाउने वा सबै मन्त्रालय एक ठाउँ बस्ने भनेको होइन । कोरोनासँग लड्न नेपालको एउटा योजना हुनुपर्छ र त्यसमा सबै बाँधिनुपर्छ भनेको हो । तर आजसम्म पनि हामीले यसलाई राम्रोसँग बुझ्न सकिरहेका छैनौं ।
हामीले अहिले सिमाना बन्द गर्यौं । र, नेपालभित्र पनि आवागमनमा रोक लगाएका छौं । सीमाना बन्द गर्नुको अर्थ हामी देशभित्र संक्रमित आउन दिँदैनौं भनेको हो । देशभित्र आवागमन बन्द गर्नुको अर्थ यहाँभित्र कोहीलाई संक्रमण भएको हुनसक्छ, त्यो फैलिन दिँदैनौं भन्ने हो ।
तर यसमा हाम्रो ग्याप कहाँ रह्यो भने सीमाना बन्द गर्नुभन्दा पहिला हवाईमार्गबाट हजारौंको संख्यामा र स्थलमार्गबाट करिव लाखको हाराहारीमा नेपाली र गैरनेपालीहरु संक्रमण देखिएको ठाउँबाट नेपाल भित्रिए । त्यही बेलामा उनीहरु सबैको अभिलेख राख्ने, क्वारेन्टाइन गर्ने र ठूलो संख्यामा टेष्ट (कोरोना संक्रमण भएको वा नभएको परीक्षण) गरेको भए अहिले आत्तिनु पर्दैनथ्यो । तर हामीले गरेनौं ।
त्यसैले अब हामी जम्मा ६ सयको टेष्ट गर्दाको स्थितिमा एक जनामा देखियो, दुई जनामा देखियो भनेर नबसौं । टेष्टको दायरा बढाऔं । यसका लागि हाम्रो पूर्वाधार छ कि छैन भन्ने प्रश्न आउँछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिनमा हजार जनासम्म परीक्षण गर्न सक्छौं भनेको छ । तर गर्नसक्छौं भनेर कहिलेसम्म भनिराख्ने ? कहिलेबाट परीक्षण गर्ने ? गर्न सक्छौं भन्नेलाई गर्ने बनाउने केके गर्नुपर्छ ? काठमाडौं बाहिर केही ठाउँमा परीक्षण सुरु गर्ने भनेको पनि केही दिन भइसक्यो । हामी अहिलेसम्म सुरु गरिरहेका छैनौं । यसका लागि हामीसँग जनशक्ति अभाव छ भने कतिजना चाहिन्छ, अहिले निर्णय गरौं, भोलि विहानसम्म उपलब्ध हुन्छ ।
परीक्षण गर्न चाहिने किट वा अरु समाग्री अभाव छ ? यो पनि रातारात व्यवस्था गर्न सकिन्छ । हामीसँग अहिले भएकै सामाग्रीले पनि केही दिनलाई पुग्छ । तर त्यसले पुग्दैन, त्यसैले हजारौंको संख्यामा यस्ता सामग्रीको जोहो गर्नुपर्छ । केही नेपालभित्रै उपलब्ध छन्, केही नेपालबाहिर उपलब्ध छ र त्यसलाई ल्याउन सम्भव छ ।
तर सबैभन्दा पहिला हजारौंको परीक्षण गर्न आवश्यक छ भन्ने हाम्रो सोच बन्नुपर्यो ।
दोस्रो, हामीले परीक्षणको दायराभित्र ककसलाई राखेका छौं, हेरौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को केस डेफिनेसन भनेर तीन वटालाई मात्र लियौं । हालै मात्र स्वास्थ्य मन्त्रालयले दायरा केही फराकिलो बनाउने निर्णय गर्यो । तर यो अझ साँघुरो छ र प्रक्रिया झञ्झटिलो छ । फ्रान्सबाट कतारको दोहा हुँदै आएकी बहिनी, जसलाई कोरोना संक्रमण देखियो, उनीसँगको सम्पर्कमा आएका कतिजनालाई हामीले ट्रेस गर्यौं ? उनीहरु मध्ये कति जनाको परीक्षण गर्यौं ? उनको परिवारका सदस्यहरुको परीक्षण गर्यौं कि गरेनौं ? मैले आरोप लगाएको होइन, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख आफैंले भन्नुभएको छ कि संक्रमण देखिएकी बहिनीको परिवारका सदस्यहरुमा कुनै लक्षण नदेखिएकाले परीक्षण गरेनौं ।
परीक्षणसँगै जोडिने अर्को कुुरा पनि छ, हामीले हजारौंको संख्यामा परीक्षण गर्दैगर्दा केही मानिसमा संक्रमण भेटिनसक्छ । यो पूर्वानुमानका साथ टेष्ट गर्नुपर्छ र त्यस क्रममा संक्रमित भेटिनासाथ उसलाई तुरुन्त आइसोलेट गर्ने, उसका कन्ट्याक ट्रेस गर्ने अर्थात पत्ता लगाउने, उनीहरुलाई पनि अलग गरेर परीक्षण गर्ने ।
एकछिनका लागि मान्नुस् कि संक्रमण देखिएको एक जनाले भन्ला कि म तीन दिनअगाडि डडेल्धुरा गएको थिएँ । उसले डडेलधुरा जाँदा चढेको बसका मान्छेहरु, उसले भेटेका मानिसहरु पत्ता लगाउने न मेडिकल इन्टरभेन्सन हो । यो प्रयोगशाला वा टेकु अस्पतालले गर्दैन, उनीहरुले टेष्ट र उपचार गर्ने हो ।
त्यसका लागि संयन्त्र बनाउनुपर्छ, जसले वार फुटिङ अर्थात युद्धस्तरमा काम गरोस् । यसबारे छलफल वा निर्णय गर्दैगर्दा हामीले समस्यालाई अगाडि राख्नुपर्छ । जस्तो, एक जना विदेशबाट आएको मानिसलाई सामान्य लक्षण देखिएर घर बसेको छ तर उसले भन्दैन, टेलिफोन गर्दैन । अब हामीले सोच्नुपर्यो कि त्यो मान्छेलाई टेलिफोन गर्न सजिलो कसरी बनाउने ? जब टेलिफोन गर्छ, तब सजिलोसँग परीक्षण गर्ने व्यवस्था कसरी मिलाउने ? त्यसका लागि कुन कुन निकायले केके काम गर्ने भन्ने प्रष्ट खाका बनाऔं ।
अहिले हामी लकडाउनको तेस्रो दिनमा छौं । यो कति दिन रहन्छ भन्न सकिन्न । र, महिना दिनसम्म पनि लकडाउमा बस्नुपर्ने हुनसक्छ, यसमा सबैले सहयोग गर्नुपर्छ । आपूर्तिको समस्या देखिएको छ, यसमा सरकारले पक्कै काम गर्छ । सरकारले आपूर्तिमा केही समस्या आएको छ, हामी हल गर्दैछौं । त्यतिन्जेल तपाईसँग दुई छाक छ भने एक छाक बाँड्नुस् भन्दा तयार हुनुपर्छ । कम खाउँ भन्ला, त्यो पनि तयार हुनुपर्छ । यसमा गुनासो गरेर हुन्न ।
हामी यसरी लकडाउनमा बस्दै गर्दा सरकारले पनि युद्धस्तरमा काम गरिरहेको छ । हजारौं मानिसको परीक्षण गरेको छ, कोही संक्रमित भेटिनासाथ उसलाई छुट्याएर सम्भावित संक्रमितहरु खोजेको छ र मलाई सुरक्षित बनाउँदैछ भन्ने हुनुपर्छ । तर एकपछि अर्को संक्रमित व्यक्ति भेटिने तर उनीहरुसँग सम्पर्कमा आएका कति जनाको परीक्षण भयो, कतिको पोजेटिभ आयो, कतिको नेगेटिभ आयो भनेर समेत सरकारले भन्न सक्ने हो भने यसले आतंक सिर्जना गर्छ, ३/४ दिनमा नागरिकमा छटपटाहट सिर्जना हुन्छ ।
अहिले पनि अस्पतालहरुमा ज्वरो तथा इन्फ्लुएन्जाका लक्षण भएका मानिसहरु गएका छन् । तर फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई यत्रो दिनसम्म सुरक्षा किट दिन सकेका छैनौं । पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) भनेको के हो ? जम्मा ३ हजार रुपैयाँ गर्ने सुट, मास्क हो । यो पनि एक महिनादेखि अब आउँदैछ, भोलि आउँदैछ, फलानो देशबाट आउँदैछ भनिरह्यौं र अहिले आएर निजी क्षेत्रलाई तपाईंहरु ल्याउन सक्नुहुन्छ भने ल्याउनुस् भनियो । मैले रिस पोखेको होइन, यो सुन्दा असाध्यै दुःख लागेको छ ।
त्यसैले सरकारलाई मेरो अपील छ, काठमाडौं र हरेक प्रदेशमा कुनै मेडिकल कलेज वा सरकारी अस्पताल लिनुस्, त्यसलाई कोरोना विशेष अस्पताल बनाउनुस् । लिनुस् भनेको गएर कब्जा गर्ने होइन, उनीहरुसँग साझेदारी गर्न सकिन्छ । र, त्यहाँ भएका स्वाथ्यकर्मीहरुलाई सुरक्षा किटहरु दिनुस् ।
अनलाइनखबरसँग गरेको कुराकानीको सानो अंश ।







