
दोलखाको मेलुङ गाउँपालिकाले संभावित कोरोना संक्रमण जोखिमबाट जोगिन नयाँ उपाय निकालेको छ। विदेशबाट हालै गाउँ आएकाहरूको घरमा रातो झन्डा राखिएको छ। विदेश नजानेका घरमा झन्डा छैन।
तीन दिनदेखि गाउँका घरमा रातो झन्डा राख्ने काम भइरहेको छ। जुन घरमा हालै विदेशबाट आएकाहरू सेल्फ क्वारेन्टाइनमा बसेका छन् ती घरमा झन्डा राखिएको छ।
मेलुङबाट टाढा, सुदुरपश्चिम प्रदेशको जानकी गाउँपालिकाले पनि संभावित कोरोना संक्रमण नफैलियोस् भनेर विदेशबाट आउनेको घरमा रातो झन्डा टाँगेको छ।
लकडाउन घोषणा हुनुपूर्व गाउँ आएकाहरूको घरमा रातो झन्डा राखेको र लकडाउन घोषणापछि आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले पनि विदेशबाट आएकाहरूका घरमा झण्डा राख्ने योजना बनाएको छ। त्यसका लागि वडामा रहेका महिला स्वास्थ्य स्वयसेविका तथा जनप्रतिनिधिलाई परिचालन गर्ने निर्णयमा गाउँपालिका पुगेको छ।







