लकडाउन भएको शनिबार १२ दिन भयो । सम्झना बजगाईंको चुलोमा खाना नपाकेको चाहिँ आठ दिन । चार दिनसम्म पहिल्यै पाएको खाद्यान्नले जेनतेन धानिन् ।

झापा स्थायी घर भएकी उनी पशुपति वरिपरि घरघरमा गएर कपडा धुने र सफाइको काम गर्ने गर्थिन् । त्यसबापत पाएको ज्यालाले परिवार पाल्थिन् । उनका श्रीमान् पनि उनीजस्तै ज्याला मजदुरी गर्छन् । शनिबार बिहान आठ बजे उनी चिउरा र दालमोठ बाँडिएको ठाउँमा लाम बसेकी थिइन् ।

उनकी सात वर्षीया छोरी भने खाना खोज्दै पशुपति आउने अर्को बच्चासँग खेलिरहेकी थिइन् । श्रीमान् पशुपतिमा शव जलाउने दाउरा व्यवस्थापन गर्ने टिम्बर कर्पोरेसनको डिपोमा काम खोज्न गएका थिए । ‘हामीलाई खाना थापेर खाँदै गर्नु भनेर उहाँ दाउराको डिपोमा काम खोज्न जानुभएको छ,’ उनले भनिन्, ‘यहाँ एक माना चिउरा र अलिकति दालमोठ दिन लागेका छन्, त्यही खाएर आजको दिन काट्ने हो ।’

उनकी ११ वर्षीया छोरी पनि चिउरा र दालमोठ लिने लाममै थिइन् । खाना खोज्दै बौद्ध नयाँ बस्तीबाट उज्यालो हुनेबित्तिकै उनीहरू परिवारै पशुपति आइपुगेका हुन् ।

लकडाउन भएलगत्तै एक संस्थाले उनको परिवारलाई दुई किलो चामल र साबुन दिएको थियो । त्यो दुई दिनमै सकियो । ‘जति कमाएर ल्यायो, त्यो त्यही दिन खान्थ्यौं, हामीसँग सामान जोहो गर्ने पैसा पनि थिएन,’ सम्झनाले भनिन्, ‘काम हुँदा त जसरी नि खाने खर्च जोहो गथ्र्यौं । नहुँदा कोठामा के गरी बस्नु रु न खानेकुरा छ न खर्च ।’ उनका श्रीमान् कहिले टिम्बर कर्पोरेसनको दाउरा झार्न त कहिले ढलाको काम गर्न जान्थे । लकडाउनपछि उनीहरूको आयस्ताको सबै बाटो बन्द भएको छ ।

यही बेला सात वर्षीया कान्छी छोरी बिरामी परेपछि उनीहरू थप आत्तिएका छन् । पशुपतिमा विभिन्न संघसंस्थाले कहिले पलेटी कसेर भुइँमा खाना खुवाउँछन् त कहिले लाम लगाएर वितरण गर्दै आइरहेका छन् । यही भीडमा बजगाईंको चार जनाको परिवार पनि मिसिने गरेको छ ।

चिउरा लिने लाममै थिए सिन्धुलीका चन्द्र तामाङ । लकडाउनअघि नै श्रीमती र छोरालाई गाउँ पठाए । एक महिनामा कमाएको ३० हजारमध्ये घरभाडा तिरे । रासनको उधारो तिरे । बचत गरेको केही रकम आमाको उपचार गर्न घरमा पठाए । लकडाउनको समय लम्बिँदै गएपछि उनी आपत्मा पर्न थाले । न काम गर्न जान पाएका छन् न त साथमा खर्च नै छ । उनी घर ढलानको काम गर्थे ।

आफूसँग भएको रकम सकिएपछि कहाँ खान दिन्छन् भनेर खोज्न थाले । ‘बाँच्नु त पर्‍यो, कहाँ खाना दिन्छन् भनेर खोज्दै आउँदा यहाँ आइपुगें, बिहान ४ बजे उठ्छु, ५ बजे पशुपति आइपुग्छु,’ ग्वार्कोबाट हिँडेरै पशुपति आइपुगेका चन्द्रले भने, ‘भीडभाडमा जानु हुँदैन भन्छन्, दुई जनाबीच एक मिटरको दूरी राख्नु भन्छन् तर बाँच्नकै लागि यसरी भीडभाडमा मागेर खानुपरेको छ ।’

खान पाइने आसमा सँगै काम गर्ने अरू १९ जना पनि पशुपतिमा बिहान नियमित आउने गरेको उनले बताए । ‘हामी सबै जना ढलानको काम गथ्र्यौं, बन्द भयो । काम बन्द भएपछि खाने खर्च भएन । खाना बन्द हुँदा त मरिने भयो अनि हामी खानाको खोजीमा हिँड्यौं,’ उनले भने ।

खानाको खोजीमा आउँदा पनि काममा निस्के जस्तै पछाडि झोला भिर्छन् । बाटोमा प्रहरीले सोध्यो भने गाउँ जान लागेको भन्दै पशुपति आइपुग्छन् । उनीसँगै मागेर खाने समूहमा तीन सयजति ढलानको काम गर्ने ज्यामी रहेको उनको अनुमान छ । उनीहरू पशुपतिमा बाँडिने चिउरा, दालमोठ, रोटी, तरकारी खान्छन्, बेलुका आ–आफ्नो कोठामा फर्कन्छन् ।

पशुपति विकास कोषले पनि दिउँसो खाना खुवाउने व्यवस्था मिलाएको छ । ‘दिनभरि कहिले कहाँ, कहिले कहाँ खाना खुवाउँछन्, दिनभरि खाएर बेलुका ६ बजे मात्रै कोठा फर्कने गरेको उनले बताए ।

ज्यामी काम गर्ने बाजुराका गोरख रावलले सरकारले राहत दिने भने पनि घरबेटीको सिफारिस र नागरिकता मागेर राहत पाउन नसकिएको बताए । ‘हामी ज्यामी काम गर्नेसँग नागरिकता साथमा हुँदैन । धेरै त सडकमै सुत्छौं । राहत कसरी पाउनु ?’ उनले भने, ‘रोगले भन्दा पनि भोकले मर्ने भयौं ।’

खाना खोज्दै पशुपति आउनेहरू एकछिनमै चिउरा खाने लाममा बस्छन् । लगत्तै हलुवा, पुरी र तरकारीको लाममा पुगिहाल्छन् । त्यही लाममा थियो, हेटौंडाका गोपाल भण्डारीको परिवार । उनी अगाडि थिए । उनीभन्दा पछाडि छोरा र त्यसपछि छोरी च्यापेर उनकी श्रीमती उभिएकी थिइन् । पछाडि तीन सयभन्दा बढी थिए । ट्रेकिङ पेसा गर्ने प्रेम लाक्पा शेर्पा पनि खाना खोज्दै कपनदेखि पशुपति आइपुगेका थिए । ‘घरमा खानेकुरा नभएपछि परिवारै पशुपति आइपुगेका हौं,’ उनले भने । उनकी जेठी छोरी जर्मनीमा छन् । अर्का छोरा भारतमा पढ्न गएका छन् । श्रीमती र कान्छी छोरी भने खाना खान पशुपति आइपुगेको उनले बताए ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुने भने पनि उज्यालो भएदेखि साँझसम्म पशुपति क्षेत्रमा करिब ५ सय जना खानाको खोजीमा आइपुग्छन् । पशुपति मन्दिरको मूलगेटमै ताल्चा लगाएका कारण सुनसान हुन्छ । घाटमा पनि मलामी आउने न्यून छन् तर पार्किङ वरिपरि भने कसले खाना देला भनेर पर्खाइमा हूल बाँधेर बसेका हुन्छन् । ‘बाध्यता नपरी मागेर खान को आउँछन् र रु’ शेर्पाले भने ।

अहिले पशुपतिमा आउने सबैजसो खानाको आवश्यकता भएका व्यक्ति भएको दैनिक खाना खुवाउँदै आएका स्थानीय कपिल अग्रवालले बताए । शनिबार उनी र उनका साथीहरूले पाँच सय जनाजतिलाई हलुवा, पुरी, तरकारी, पाउरोटी र पानी दिए । ‘एक सातादेखि दिइरहेका छौं, सुरुमा डेढ सयजति थिए, अहिले करिब ५ सयलाई दिइरहेका छांै,’ उनले भने,‘सुक्खा रासनभन्दा यस्ता खाना दिनु उपयुक्त हुन्छ ।’

कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले चैत ११ गतेबाट गरेको लकडाउनका कारण सबैभन्दा बढी दैनिक ज्यालादारी गर्ने मजदुर तथा असहाय वर्ग मारमा परेका छन् । सरकारले उनीहरूलाई सम्बन्धित वडा कार्यालयबाटै राहत वितरणको कार्ययोजना तयारसमेत गरेको छ ।

अर्थ मन्त्रालयले तयार पारेको तत्काल राहत कार्यक्रम कार्यान्वयन कार्ययोजनामा लक्षित व्यक्ति तथा परिवारको पहिचान गरी तिनलाई राहत उपलब्ध गराउने जिम्मेवारी वडालाई तोकिएको छ । ७ सय ५३ स्थानीय तहमा देशैभर ६ हजार ७ सय ४३ वटा वडा छन् ।

अर्थले बनाएको मापदण्डमा लक्षित प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ लिटर खाने तेल, ४ वटा साबुन र २ किलो चिनी दिने उल्लेख छ । दुई जनासम्मको परिवारलाई भने ती सामग्रीको आधा मात्रै उपलब्ध गराइनेछ । स्थानीय तहले आफ्नो आवश्यकताअनुसार मापदण्डमा उल्लेखित राहत सामग्रीलाई बढाउन पनि सक्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार