
बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा घोटाला भएको प्रमाणसहित आफूले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित केहीलाई अख्तियारमा मुद्दा दर्ता गराएको स्पष्ट पारेका छन् ।
उनले अख्तियारले उपप्रधानमन्त्री पोखरेललाई तुरुन्तै गिरफ्तार गर्नुपर्नेसमेत माग गरेका छन् । उनले यो भ्रष्टाचार प्रकरणमा उपप्रधानमन्त्री पोखरेलको मुख्य हात रहेको समेत आरोप लगाए ।
प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
“उहाँ त कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक हो । उहाँले एप्रुभ नगरिकन यो सम्झौता भएको होईन् । त्यसमा पनि अरु मिडियाहरुले उहाँको छोराको नाम ल्याईरहेको छ ।” त्रिपाठीले भने, ”अर्को कुरा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालजी त आफैंपनि विभागीय मन्त्री हो । उहाँ जिम्मेवार हुने कुरा त भईनिहाल्यो । सचिवज्यू त उहाँ संस्थागत अधिकारी हो ।”
यो मेडिकल ईक्युपमेन्ट खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएको र यसमा उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादवप्रसाद कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठ संलग्न रहेको पनि त्रिपाठीको दाबी छ ।
भ्रष्टाचार भएको आधारमा उनले नेपाल सरकारले किनेको सामान र नेपालस्थित् चिनियाँ दूतावासले उपलब्ध गराएका सामानको मुल्यमा धेरै अन्तर रहेको प्रमाण पेश गरे । सम्झौता रद्द गरेर सरकार आफैंले यो प्रकरणमा गम्भिर भ्रष्टाचार भयो भनेर प्रमाणित गरिदिएको पनि उनको दाबी छ ।







