वारि दार्चुला । पारि धार्चुला । बीचमा नदी । न नदी पार गर्न नै सकिने । न सीमाको ढोका नै खुल्छ । सक्नेहरूले त नदी तरेरै बाटो तताए । नसक्नेहरू धार्चुलामै थुनिए । हजारौँको संख्यामा नेपालीहरू न यता न उता भएका छन् । उनीहरू रोजगारका लागि भारत गएका थिए । थुनिनेमा अधिकांश मजदुर छन् ।

बैतडी हाटका ४३ वर्षीय पदमसिंह धामी सडकको कामका लागि भारत गएका थिए । ४ महिना काम गरेर केही पैसा जम्मा पारेर नेपाल फर्किए । जंगलमा काम गर्ने धामीलाई कोरोना भाइरस के हो थाहै थिएन । जब सीमामा आइपुगे,तब गेट बन्द भएपछि थाहा पाए कोरोना महामारीले जहाँ हो, त्यहीँ बस्नुपर्ने रहेछ । १२औं दिन भयो उनी धार्चुलाको बलुवाकोटको एक विद्यालयमा बसिरहेका छन् । अर्थात् क्वारेन्टाइनमा ।

उनी मात्र होइन, धार्चुलाका विभिन्न ठाउँमा १ हजारभन्दा बढी पश्चिम नेपालका नेपाली नागरिक लकडाउनका कारण थुनिएका छन् । एउटै कोठमा ३०/४० जना खाँदिएर बसेका छन् ।

सोमबार बलुवाकोटबाट एक पीडित धामीले सुनाए आफ्नो पीडा –

४ महिनाअघि सडक बनाउने कामका लागि भारत गएको हुँ । यताको कमाइले वर्षभर खान पुग्दैन । त्यसैले कामका लागि भारत गएको हुँ ।

जंगलमै बसेर सकडकको काम गर्नुपर्ने । यता बन्द भन्ने पनि थाहा थिएन । १२ दिनअघि सीमामा आइपुग्दा गेट बन्द रहेछ । त्यसपछि थाहा पाएँ, कोरोना भाइरसका कारण बन्द गरिएको भन्ने । यहाँ आइपुग्दा ढुंगामुढा आन्दोलन नै चलिरहेको रहेछ । ढुंगामुढा गर्नेहरू त नदी तरेर आ–आफ्नो घर गए । ढुंगामुढा नगर्ने र नदी तर्न नसक्नेहरू हामी धार्चुलाका विभिन्न ठाउँमा छौंँ । कोही बलुवाकोट, जवाहरसिंह जौलजीवीलगायतका ठाउँमा छन् । सबै दुःख सहेर बसेका छन् ।

अत्यधिक गर्मी छ । चिटचिट पसिना आउँछ । कोठाबाट बाहिर निस्कन पाएका छैनौँ । एउटै कोठामा ४० जनासम्म बसेका छौँ । अत्यास नै लागिसकेकाे छ । घरबाट दिनै फोन आउँछ कहिले आउने घर भनेर ।

दिसा र पिसाब लाग्दा पनि निस्कन पाएका छैनौँ । निस्क्याे कि डन्डा खानुपर्छ । म त धामी मान्छे पूजा पाठ गर्नुपर्ने । केही गर्न पाएको छैन । टाठाबाठा बाटो लागे । केही नबुझ्नेहरू धेरै छन् । हाम्रा लागि कसले पहल गर्दिने ?

सरकारले कहिले बोलाउँँछ भनेर बाटाे हेर्दै बसेका छौँ । यहाँ भएका मान्छे १ जनलाई कोरोना रोग लागेको रहेछ भने हामी सबैलाई लाग्ने भयो । सबै जना एकै ठाउँमा जोडिएर सुतेका छौँ । जसलाई लागेको हो उसलाई उपचार गरेर अरूलाई जान दिए हुने । सबैलाई लाग्ने भयो । घरमा पुग्ने आस नै मर्न थालेको छ । दिन पनि ठूलो लाग्छ । अब यतै कुहिएर मरिने भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार