कोरोना भाइरसको प्रकोपले समग्र विश्वको राजनीतिमा कस्तो प्रभाव पारेको छ ? भोलि के प्रभाव पार्छ, त्यसका विरुद्धमा लड्ने कुरामा विश्वमा के फरक देखियो भन्ने सन्दर्भमा पनि मैले अध्ययन गर्ने गरेको छु ।

चीनमा यसको सुरुवात भयो । त्यसको रोकथापका लागि चीनले कडा कदमहरु चाल्दा  त्यतिबेला विश्वका पुँजीवादी राष्ट्रले चीनलाई गिल्ला गरेको थिए । चीनले ‘लकडाउन’ गरेर कोरोना रोकथाममा लाग्दा त्यतिबेला मानवअधिकारको उल्लंघन भएको, मानवीय स्वतन्त्रताको अपहरण भएको जस्ता कुरा गरेर उपहास गरियो । मास्क लगाएर कोरोनाको प्रतिरक्षाका लागि सुरक्षाका उपाय अपनाउँदा केही पश्चिमा नेताहरु, बुद्धिजीविहरुले चर्को आलोचना गरे, केही मिडियाहरुले माओको मुखमा मास्क लगाएर प्रचार गरे । त्यसबाट नेपालका केही मिडिया पनि अछुतो रहन सकेन । अब कोरोनाको संक्रमण पश्चिममा मुलुक, युरोप अमेरिकातिर फैलिन थालेपछि उनीहरु आफैले गरेका कुरामा आफैं लज्जित भएको महसुस हुन्छ ।

अहिले चीनले कोरोना महाव्याधिलाई जसरी छोटो समयमै नियन्त्रण गर्न सक्यो, त्यसरी अमेरिका र युरोपका देशहरुले नियन्त्रण गर्न सकेका छैनन् । यसका पछाडि मूलतः दुइटा आयाम देखिन्छन्ः

एउटा समाजवादी समाज निर्माणमा जनताप्रतिको उत्तरदायित्व राज्यले कसरी बहन गर्छ, जनता र राज्यबीचको सम्बन्ध के हुन्छ ? राज्यका संयन्त्र र जनता कसरी जुट्दछन् भन्ने एउटा राम्रो उदहारण चीनमा देखिन्छ । अर्कोतिर, अमेरिका तथा युरोपमा अहिले देखिएकोभद्रगोलले पुँजीवादी स्वतन्त्रताका नाममा भएको अराजकताले के स्थिति पैदा भयो भन्ने कुराको ज्वलन्त नमुना पनि साथसाथै देखापरेको छ ।

पुँजीवादी राष्ट्रहरुमा हिजो उत्पादन र वितरणमा एक प्रकारको सांगठनिक सहयोगात्मक एकता थियो । तर त्यो एकता अहिले  देखिँदैन । कोरोनाका कारण उनीहरुका सहयोगात्मक सबै कुरा लथालिङ्ग भए ।

जस्तो, इटालिमा कोरोनाको त्यत्रो ठूलो प्रभाव देखिँदा पनि युरोपियन युनियनले केही पनि गरेन । सबै राष्ट्रहरु आफ्नो आफ्नो स्वार्थका कुरा मात्र गर्न थाले । यतिसम्म कि युरोपका कतिपय मुलुकहरुले त कोरोना रोकथामका लागि उपयोगी र अत्यावश्यक हुन सक्ने देखिएका आफ्ना उत्पादनहरुको निर्यातमा नै रोक लगाउनतिर लागे, त्यस्ता उत्पादनहरु मुलुक बाहिर गएका छन् भने पनि फिर्ता ल्याउने गरेको देखियो ।

उदाहरणको लागि, अमेरिकाले उत्पादन गरेको केही सामान थाइल्यान्डमा पुगेको थियो, जर्मनी पठाउन प्याक गरेको सामान पनि अमेरिकाले  थाइल्यान्डबाट सेना लगाएर फिर्ता लियो । त्यो घटनाको कडा प्रतिरोध गर्दै जर्मनले डकैती गरेको भनेर आरोप लगाएको छ । अहिले कोरोनाको प्रकोपले गाँज्दै जाँदा नाटोभित्र, युरोपियन युनियनभित्र आबद्ध रहेर विश्व राजनीतिमा पुँजीवादी खेमामा रहेका मुलुकहरु यतिखेर एकला एकलै जस्ता देखिए ।

अर्कोतिर चीनको स्थिति र व्यवहार चाहिँ भिन्न देखिन्छ । आफ्नो मुलुकभित्र चीनले कोरोना नियन्त्रण गरिसकेपछि हिजो आफूलाई हेलाहोचो गर्ने मुलुकहरु लगायत संसारभरि नै उसले सहयोगात्मक हात फैलाएको छ । कतिसम्म भने कोरोना महाव्याधिकै सिलसिलामा हिजो आफूलाई शत्रुतापूर्ण व्यवहार गरेर खुइल्याउन लाविपरेको अमेरिकामा समेत सहयोगको प्याकेज पुर्याएर उसले त्यहाँ कोरोना नियन्त्रणका लागि भूमिका निर्वाह गर्ने  काम गरेको छ । यसले भावी दिनहरुमा विश्व राजनीतिमा नयाँ आयाम सुरुवात हुने  संकेत देखापरेको रुपमा पनि विश्लेषण हुन थालेको छ । कतिपय मुलुकका सरकार प्रमुख र नेताहरुले त विश्व आपतकालको अहिलेको बेलामा चीनले निर्वाह गरेको भूमिकालाई  सार्वजनिक रुपमै प्रशंसा गरेका उदाहरण पनि छन् ।

त्यस्तै, लामो समयदेखि समाजवादको अभ्यास गर्ने बाटोमा अग्रसर भएकै कारण अमेरिकाको कठोर नाकाबन्दी भोगिरहेका क्युबाले यसबेला निर्वाह गरेको भूमिका पनि उल्लेखनीय छ । खासगरी, क्युबाले आफू कहाँ कोरोना हुँदा हुँदै पनि ‘रिभोल्युसनरी फाइटर’ भनेर इटाली, स्पेनलगायतका मुलुकहरुमा स्वास्थ्यकर्मी र स्वयसेवक पठाए । आपतको यो बेलामा क्युबाले आफूविरुद्धको अमेरिकी नाकाबन्दीमा सहयोगी राष्ट्रहरुमा समेत सहयोग पठाएर एउटा उदाहरणीय नमूना पेश गरेको छ । जबकि, त्यस किसिमको सहयोग त अरु कुनै पुँजीवादी मुलुकले पनि पठाउन सकेका छैनन् ।

त्यसकारण, अहिले कोभिड–१९ को विश्व महाव्याधिको महासंकटकालीन समयमा समाज, जनता र विश्वमानव समुदायप्रतिको उत्तरदायित्व समाजवादी समाजले कसरी निर्वाह गर्छ, र त्यही कुरा पुँजीवादी समाजले कसरी निर्वाह गर्छ भन्ने कुरा यतिखेर घामजत्तिकै छर्लङ भएको छ ।

कोरोनाको प्रकोप नियन्त्रणमा आएपछि विश्व राजनीति, विश्व सामाजिक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ बहसको बाटो पक्रन्छ भन्ने मलाई लागेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार