
यसपटकको सचिवालय बैठकमा दुई अध्यक्षले एक अर्काविरुद्ध कार्वाहीको प्रस्ताव राखेपछि बैठकमा अनौठो दृश्य पैदा भएको बताइएको छ ।
पहिलो अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य ओम शर्मालाई कार्वाहीको प्रस्ताव राखेभने प्रचण्डले अर्का केन्द्रीय सदस्य सूर्य थापालाई कार्वाहीको माग गरे ।
अध्यक्ष ओलीले अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सल्लाहकार रहेका केन्द्रीय सदस्य ओम शर्मालाई कारबाहीको प्रस्ताव गरे ।
“ओम शर्माले आफ्नो अनलाइनमा जथाभावी समाचार लेखाइरहनुभएको छ, केन्द्रीय सदस्य भएपछि पार्टी अनुशासनमा बाँधिनुपर्यो नि ! जे मन लाग्यो लेखेको छ, लेखाएको छ, सरकारविरुद्ध भ्रम सिर्जना गरेको छ,” प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सचिवालय सदस्यले बताए ।
प्रधानमन्त्रीले आफ्नो सञ्चार सल्लाहकारसमेत रहेका शर्माविरुद्ध कारबाहीको प्रस्ताव अघि सारेपछि प्रचण्ड पनि चुप लागेनन् ।
बीचमै उनले सूर्य थापाको प्रसंग निकाले ।
“सूर्य थापाले पनि जथाभावी बोल्दै आउनुभएको छ । उहाँका अभिव्यक्ति पनि पार्टी एकताका पक्षमा छैनन् । मेराविरुद्ध जथाभावी लेख्दै आउनुभएको छ । पूर्वमाओवादी केन्द्रलाई बदनाम गर्ने, मेरो बदनाम गर्ने उहाँको नियत देखिन्छ,” प्रचण्डको भनाइ ती सदस्य उद्धृत गर्छन्, “कारबाही नै गर्ने हो भने उहाँबाट सुरु गरौं ।”
सूर्य थापाको प्रसंग आउनेबित्तिकै झलनाथ खनालको छेवैमा बसेका उपाध्यक्ष वामदेव गौतमले पनि मुख फोरे । उनले पार्टी अध्यक्ष प्रचण्डलाई उकास्दै भनेको कुरा अर्का सचिवालय सदस्य पुष्टि गर्छन्, “प्रधानमन्त्रीले कहाँ सूर्य थापालाई कारबाही गर्नुहुन्छ ? झन् पुरस्कृत पो गर्नुहुन्छ ! उहाँलाई त्यस्तै मान्छे त चाहिएको छ ।”
उनले बर्दिया–१ को प्रतिनिधिसभा सदस्यमा पराजित भएको झोक त्यहाँ पनि फेर्न बाँकी राखेनन् । “सूर्य थापाले मेरोविरूद्ध पनि अनर्गल प्रचार गर्न छाडेका छैनन् । बर्दियामा चुनाव हराउन लागेको कुरा स–प्रमाण पेश गर्दा पनि प्रधानमन्त्रीले त्यतिबेला कारबाही गर्नुभएन । अहिले प्रेस सल्लाहकार बनाउनुभएको छ ।”
दुई अध्यक्षले नै कारबाहीको प्रस्ताव ल्याउन थालेपछि अरू सदस्यले यस विषयमा टिप्पणीगर्न जरुरत ठानेनन् ।
विश्वको टाउको दुखाइ बनेको कोभिड–१९ को प्रकोप रोक्न घनिभूत छलफल गर्न र मूर्त योजना बनाउन, सरकारलाई निर्देशन दिन आह्वान भएको र पाँचघण्टा चलेको बैठक दुई अध्यक्षको गनथनमै सकिएको ती सचिवालय सदस्य बताउँछन् ।







