
नेपाली कांग्रेसबाट निर्वाचित पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले लकडाउनको बेला कुहिएको चामल वितरण गरेर पार्टीकै बेइज्जत गरेका छन् ।
पार्टीको निर्देशन अनुसार कांग्रेसका नेता कार्यकर्ताले व्यक्तिगत रुपमा समेत गरीब र मजदुरलाई सहयोग गरिरहेका बेला मेयर गुप्ताले नगरपालिकाको कोषबाट कुहिएको चामल बाँडेर पार्टीकै बेइज्जल हुने काम गरेको भन्दै आलोचना खेपिरहेका छन् ।
नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर गुजारा गर्ने गरीब तथा विपन्न वर्ग घरधुरीलाई वडामार्फत वितरण गरेको खाद्यान्न सामग्री गुणस्तरहीन भएको देखिएको छ ।
रामग्राम नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्ग घरधुरीलाई वितरण गरेको खाद्यान्न सामग्रीमा चामल कुहिएको सोयबिनमा किरा फेला परेको छ । नगरपालिकाले पहिलो चरणमा १ देखि १३ वडामा राहत सामग्रीमा वितरण गरेको चामलमा कुहिएको सोयबिनमा कीरा भेटिएको रामग्राम नगरपालिका–६ का स्थानीय सोहन केवाटले बताए । ‘नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरीब तथा विपन्न वर्गलाई १० किलोग्राम चामल दिने भनेपनि तौल गर्दा ९ किलो मात्र पाइयो,’ उनले भने ।
चामलमा ३ प्रकारको चामल मिसावट गरिएको समेत भेटिएको स्थानीय सुरेन्द्र कोहारले बताए । ‘मोटा, मसिनो र खुदी चामलमा मिसावट गरिएको र कुहिएको सोयबिनमा किरा भेटिएको छ,’ कोहारले भने ।
रामग्राम नगरपालिकाले वितरण गरेको राहत सामग्रीमा चामलमा कुहिएको सोयबिन किरा भेटिएपछि वडा नम्बर ६ का स्थानीयले राहत सामग्री वडाध्यक्ष जितेन्द्र आग्रहरीको घरमा लगेर फालेका छन् ।







