
स्याङ्जामा सरकारले गरेको निर्णय विपरीत धमाधम स्थानीयतहका जनप्रतिनिधिहरुले सवारी पास वितरण गर्न थालेका छन् । लकडाउन अवधीमा जिल्ला प्रशासन र इलाका प्रशासनबाट वितरण गर्ने सरकारी निर्णयको चरम दुरुपयोग गर्दै वडा अध्यक्षहरुले सवारी पास दिन थालेपछि लकडाउन उल्लंघन भएको पाइएको छ ।
लकडाउनको अवधी बढ्दै जान थालेपछि स्याङ्जाका जनप्रतिनिधिहरु आफ्ना नागरिकलाई धमाधम सवारी पास वितरण गरेपछि प्रशासनले ध्यानाकर्षण समेत गरेको छ । सिद्धार्थ राजमार्ग र भित्रि सडकमा मोटरसाईकल लगायत अन्य सवारी साधन चल्न थालेपछि इलाका प्रशासन र वडा प्रहरी कार्यालयले अनुगमन समेत थालेको छ । अधिकांश सवारी साधनहरुले वडा अध्यक्षले जारी गरेको पास देखाउन थालेपछि प्रशासन लकडाउनलाई उल्लंघन भएको भन्दै आक्रमक बनेको छ ।
लकडाउन अवधीभर दैनिक अत्यआवश्यक बाहेक घरबाट बाहिर ननिस्कन सरकारले आग्रह गर्दै आएको छ । अत्यआवश्यक परेर बाहिर हिड्नु परेमा जिल्ला प्रशासन वा इलाका प्रशासन सगँ समन्वय गरेर मात्र हिडडुल गर्न सरकारले सबै नागरिकलाई अनुरोध गरेपनि यसको कार्यन्वयनमा जनप्रतिनिधिहरु नै बाधक बनेका छन् ।
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय बाहेकले सवारी आवागमनका लागि पास बाड्ने व्यवस्थालाई उल्लंघन गरेको देखियो अनुगमनमा पुगेका इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए । अनुगमनका क्रममा स्थानीय पालिकाका वडा अध्यक्षहरुले आवतजावतका लागि पास वितरण गरेको फेला पारेका छौ शर्माले भने,“पहिलो पटक जारी भएका पास नियन्त्रणमा लिने र जनप्रतिनिधिलाई अब पासको दुरुपयोग नगर्न आग्रह गरेका छौं ।” फेरि पनि यो क्रियाकलाप नरोकिएमा यस विषयमा प्रशासन कडा कदम चाल्न सक्छ उनले भने । सबै भन्दा बढी उल्लंघन प्रशासनको कम पहुँच भएको पालिकामा पाईएको छ । गल्याङ नगरपालिका र कालीगण्डकी गाँउपालिकाका केही वडा अध्यक्षहरुले वितरण गरेको सवारी पासलाई वडा प्रहरी र इलाका प्रशासनले नियन्त्रणमा समेत लिइएको छ ।
विश्वलाई नै आतकिंत पारेर फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न लकडाउन नै अहिले सम्मको सफलता नेपालका लागि ठिक भएको सरकारले पनि ठह गर्दै आएको छ । स्याङ्जामा स्थानीय पालिकाहरुका जनप्रतिनिधिहरु सगँको समन्वय राम्रो भएका कारण जिल्लामा लकडाउन उल्लंघन नभएको जिल्ला प्रशासन कार्यालयले दावी गरेको छ ।







