प्रसिद्ध इतिहासकार तथा लेखक प्राध्यापक युभल नोहा हरारीले सबै एकजुट भएर लागेमा कोरोना भाइरस९कोभिड–१९० विरुद्धको लडाइँ जितिने बताएका छन् ।

मंगलबार इन्डिया टुडे टेलिभिजनका पत्रकार राहुल कँवलसँगको कुराकानीमा इतिहासकार हरारीले पूरा विश्व एक ठाउँमा उभिने हो भने कोरोना भाइरसविरुद्ध जित हासिल हुने बताएका हुन् ।

यस्तो कठिन परिस्थितिमा एकले अर्कोलाई आरोप लगाउनुभन्दा पनि एकठाउँमा उभिएर चुनौतीको सामना गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

यसभन्दा अघिका महामारीमा भन्दा अहिलेको अवस्था राम्रो भएको पनि उनले बताए। मध्ययुगमा फैलिएको ुब्ल्याक डेथुको जस्तो अहिलेको अवस्था नभएको उनले बताए। रोग फैलिएको केही दिनमा नै भाइरसका बारेमा पत्ता लागेको बताउँदै हरारीले सबै एकजुट भए छिट्टै भ्याक्सिन र औषधि पनि पत्ता लाग्ने बताए।

‘धनी मुलुकले गरिबलाई सघाउनुपर्छ’

करिब ४५ मिनेटको कुराकानीमा इतिहासकार हरारीले कोरोना भाइरसविरुद्धको लडाइँमा ‘विश्वव्यापी सहकार्य’ लाई पटकपटक दोहोर‍्‍याएका थिए।

कोरोना संक्रमण तथा रोकथामका लागि विश्वका शक्तिशाली र धनी मुलुकले गरिब मुलुकलाई सघाउनुपर्ने हरारीले बताए। निम्न आय भएका देशहरुलाई आर्थिक, तथा औषधि, स्वास्थ्य उपकरणलगायतका सहयोग उपलब्ध नगराए महामारी नियन्त्रण गर्न निकै कठिन हुने पनि उनले बताए।

त्यस्तै हरारीले अहिले कुन सेयरबजार ओरालो लाग्यो, कहाँको अर्थतन्त्र खस्कियो भनेर चिन्ता गर्नुभन्दा पनि कहाँका मान्छेले खान पाएका छैनन् भनेर सोच्नुपर्ने आवश्यकता रहेको बताए।

साथै राजनीतिक नेतृत्वको सत्ताको दाउपेच हेर्नुभन्दा पनि आफ्ना नागरिकलाई सही सूचना दिनुपर्ने पनि उनले बताए। ‘राजनीतिक नेतृत्वले साँचो बोल्नैपर्छ। विज्ञानमा विश्वास गर्नुपर्छ र त्यहीअनुसार प्रतिकार्य योजना अघि सार्नुपर्छ,’ उनले भने, ‘पछिल्ला वर्षहरुमा राजनीतिक नेतृत्वले विज्ञानलाई अलि बढी विश्वास गरेका छन्।’

त्यस्तै एक अर्कालाई सूचना आदानप्रदान नगर्ने र आरोपप्रत्यारोप गर्ने हो भने महामारी नियन्त्रण पनि नहुने र आउँदा दिनहरुमा अन्तर्राष्ट्रिय सम्बन्ध नराम्रोसँग भत्किँदै जाने चेतावनी पनि उनले दिए।

‘सबैले सबै चिज बनाएर कहीँ पुगिदैँन’

विश्वका कुनै पनि देश पूर्ण रुपमा आत्मनिर्भर नरहेको बताउँदै हरारीले अहिले सबै चिज मै बनाउँछु भनेर लागे विश्व अर्थतन्त्र ध्वस्त हुने बताएका छन्। उनले कुनै पनि देश सबै चिज बनाउन सक्षम नरहेको बताउँदै एक अर्काको सहकार्यबिना विश्व नचल्ने पनि बताए। उनले भने, ‘अहिले कोरोना भाइरसको औषधि पनि मै बनाउँछु, भ्याक्सिन पनि मै बनाउँछु भनेर लागे त्यसले कामै गर्दैन। अहिले कुनै एउटा देशले जतिसक्दो छिटो भ्याक्सिन र औषधि बनाउनुपर्छ र अरुलाई सहयोग गर्नुपर्छ।’

सीमा बन्द, आइसोलेसन र लकडाउन मात्रले कोरोना भाइरसविरुद्ध जित सम्भव नरहेको पनि उनले दोहोर्‍याएका छन्। यसअघि ुटाइमु म्यागजिनमा एउटा लेखमार्फत उनले मध्ययुगमा यातायात सञ्जालले नजोडिएका देशबीच पनि संक्रमण फैलिएको उल्लेख गर्दै सीमा बन्द समाधान नभएको बताएका थिए।

त्यस्तै के अब शक्ति पश्चिमबाट पूर्वमा सरेको हो भन्ने प्रश्नमा हरारीले भने, ‘केही हदसम्म हो भन्न सकिन्छ। केही वर्षदेखि विश्व समुदायले अमेरिकी नेतृत्वमाथि कम विश्वास गर्दै आएको थियो। अहिलेको महामारीको अवस्थासम्म आइपुग्दा अमेरिकी क्षमता र गुणस्तरीयतामाथिको विश्वास पनि गुम्दैछ।’

‘विज्ञानलाई विश्वास गर्नुहोस्’

पहिले–पहिले कुनै रोगव्याधि लागे मानिसहरु चर्च, मन्दिर, मस्जिदलगायतका धार्मिकस्थलमा जाने प्रसंग उप्काउँदै हरारीले धार्मिक नेताहरुमा पनि परिवर्तन देखिएको बताए। यसपटकको महामारीमा पनि धेरै देशले चर्च, मस्जिद, मन्दिरलगायतका धार्मिक स्थलहरु बन्द गरिएको उनले बताए।

‘षड्यन्त्र हो भन्नेलाई भाइरस के हो भनेर सोध्नुहोस्’

कोरोना भाइरसको उत्पत्तिबारे विभिन्न आरोपप्रत्यारोप चलिरहेको छ। कसैले यसलाई कुनै अमुक मुलुकको षड्यन्त्र हो भनेर आरोप लगाइरहेका छन्। तर हरारी भने त्यसलाई मान्न तयार छैनन्। उनले केही दिनअघि ट्वीटरमा व्यक्त गरेको विचार फेरि दोहोर‍्‍याएका छन्। उनी भन्छन्, ‘यदि कसैले कोरोना भाइरसको उत्पत्ति र संक्रमणबारे कन्सपिरेसी थियरी (षड्यन्त्रको सिद्धान्त) हो भनेर तपाईँलाई बुझाउन खोज्छ भने उसलाई पहिले सोध्नुहोस्, भाइरस के हो र यसले कसरी रोग निम्त्याउँछ।उनीहरुलाई यसका बारेमा अत्तोपत्तो छैन भने उनीहरुको सिद्धान्तमाथि विश्वास नगर्नुहोस्। हामीले पीएचडी गर्नु आवश्यक छैन तर जीवविज्ञानका आधारभूत कुरा थाहा पाउनैपर्छ।’

‘भविष्यलाई पाठ’

हरारीले कोरोना भाइरसको महामारीबाट विश्व समुदायलाई भविष्यको पाठ सिकाएको बताएका छन्। बिनासहकार्य, एकअर्काबीच सूचना आदानप्रदान नगरी अहिलेको महामारी मात्रै होइन, भविष्यमा आउने अन्य विपद्को सामना गर्न कठिन हुने उनले बताए। उनले भने, ‘वैज्ञानिक सूचनाको आदानप्रदान, एकजुट भएर औषधि र भ्याक्सिन पत्ता लगाउने काम अघि बढाएमा कोरोना भाइरसविरुद्धको जित हात पार्न सकिन्छ।’ त्यस्तै अर्काको दुःखमा नाफा कमाउनेतर्फ ध्यान दिए त्यसले भविष्यमा नराम्रो परिणाम निम्त्याउने पनि उनले बताएका छन्।

कुराकानीको अन्तिममा भारतबारे सोधिएको प्रश्नमा उनले भने, ‘कोरोना भाइरसको नियन्त्रणमा भारत सरकारले के–के कदम चालेको छ। त्यो मलाई थाहा छैन। मलाई थाहा नभएको कुरा म भन्न सक्दिनँ। तर विगतका महामारीमा भारतले ठूलो क्षति बेहोरेका कारण अहिले पनि ठूलो चुनौती रहेको छ।’

त्यस्तै उनले कोरोना भाइरस संक्रमणको फैलावटमा भारतमा मुस्लिम समुदायहरुमाथि लगाइएको आरोपको पनि खण्डन गरे। कोरोना भाइरस संक्रमणको दोष कुनै समुदायमाथि थुपार्नु विवेकहीन काम भएको पनि उनले स्पष्ट पारे।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार