
नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले जनप्रतिनिधी हुँ भन्न पनि लाज लाग्ने अवस्था आएको बताएका छन्।
लकडाउनका कारण समस्यामा परेका जनताको आवाज नसुनेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
थापाले आफ्नो फेसबुक पेजमा स्टाटस र घर जान हिँडेका व्यक्तिहरूको फोटो पोस्ट गर्दै आफूलाई जनप्रतिनिधि हुँ भनेर भन्न पनि लाज्जाबोध भएको बताएका छन् ।
कांग्रेस नेता थापाले सडकमा हिँडेका र दुःख पाएका जनतालाई असुरक्षित राखेर आफू मात्रै जोगिनुको कुनै अर्थ नहुने बताएका छन् । लकडाउनबाट अफ्ठ्यारोमा परेका जनताको समस्या समाधानको उपाय मिलेर खोज्न प्रधानमन्त्री ओलीसँग थापाले आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ?’, कांग्रेसका युवा नेता थापाले प्रश्न गरेका छन्, ‘मलाई त म यिनको जनप्रतिनिधि हो भन्ने सोँच्दा लज्जाबोध हुन्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले भनेका छन्, ‘यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ !?’
‘केही नगर्ने हो भने यिनको आँसुले पोल्नेछ’, उनले भनेका छन्, ‘यिनको व्यवस्थापनका उपाय छन् । हामी छलफल गर्न चाहन्छौं । बोलाउनुस्, मिलेर काम गरौं ।’







