
अहिले कोरोना भाइरसको विश्वव्यापी सङ्कटका कारणले संसारभरि फैलिएका नेपालीहरूमा खलबल मच्चिएको छ । प्रथमतः बिभिन्न देशहरूमा उनीहरूको रोजगारी समाप्त भएको छ वा त्यसमा ठूलो मात्रामा कटौती हुने स्थिति उत्पन्न भएको छ । त्यो स्थितिमा ती देशहरूमा बस्नु नेपालीहरूका लागि सम्भव हुने कुरा भएन र उनीहरूका अगाडि एउटै विकल्प बाँकी रहन्छ – स्वदेशमा फर्किनु ।
कैयौँ देशहरूका सरकारहरूले विदेशी नागरिकहरूलाई देश छाडेर जान भन्न थालेका छन् । उदाहरणका लागि, अस्ट्रेलियामा सबै विदेशी विद्यार्थीहरूलाई त्यहाँबाट आफ्नो आफ्नो देशमा फर्कन भनिएको छ भने अमेरिकी राष्ट्रपतिले पनि अमेरिकामा भएका विदेशी नागरिकहरूलाई देश छाडेर जान सूचना जारी गरेका छन् ।
यो सम्भावनालाई अस्वीकार गर्न सकिन्न कि, सम्भवतः अन्य देशहरूमा पनि ढिलो छिटो नेपालीहरूले त्यसप्रकारको स्थितिको सामना गर्नुपर्नेछ । पहिले बर्मा (म्यानमार) र आसामबाट समेत ठूलो सङ्ख्यामा नेपालीहरूलाई निकालिएका उदाहरणहरू पनि हाम्रा अगाडि छन् । त्यसरी निकालिएका नेपालीहरू नेपालमा नै फर्केर आउनु परेको थियो । ती केही उदाहरणहरूले पनि यो कुरा प्रस्ट गरेका छन् कि विदेशमा तात्कालिक रूपमा केही फाइदा उठाउन सके पनि हामीले अन्तिम र स्थायी समाधान देशभित्र नै खोज्नुपर्दछ । देशभित्र स्थायी समाधान खोज्नुको अर्थ हो– देशलाई बनाउनुपर्दछ । संक्षिप्तमा सूत्रका रूपमा त्यो कुरालाई यसरी भन्न सकिन्छ- देशमा नै बसौँ, देशलाई बनाऔँ ।
यसको अर्थ विदेशी भूमिलाई कुनै पनि रूपमा उपयोग नगर्ने भन्ने होइन । आजको युगमा त्यसो गर्नु सम्भव पनि हुँदैन । तर, सबै नेपालीहरूले प्राथमिक रूपमा आफ्नो देशमा बस्ने र देशलाई बनाउने कुरामा नै जोड दिनुपर्दछ ।
कुनै पनि देशले विदेशीहरूलाई आफ्नो आवश्यकता अनुसार नै उपयोग गर्ने गर्दछ र आवश्यकता नै नभएको अवस्थामा उनीहरूलाई निकालिदिन्छन् । कुनै देशको सरकारले औपचारिक वा घोषितरूपले विदेशी नागरिकहरूलाई ननिकाले पनि त्यहाँ रोजगारीका अवसरहरू समाप्त भएपछि त्यहाँ बस्नु सम्भव हुँदैन र आफ्नो देशमा फर्कनुपर्दछ ।
खास गरेर दुईवटा कारणले कुनै देशमा विदेशीहरूको उपयोगिता कम हुने गर्दछ । प्रथमः कुनै देशको अर्थतन्त्रमा विदेशीहरूको उपयोगिता नभएपछि । द्वितीय, विदेशीहरूको उपस्थितिका कारणले देशभित्रका मानिसहरूका लागि नै रोजगारीको समस्या उत्पन्न भएपछि । केही उदाहरणहरूले त्यो कुरामाथि राम्ररी प्रकाश हाल्नेछन् ।
द्वितीय विश्वयुद्धका कारणले युरोपको अर्थतन्त्र ध्वस्त भएको थियो । त्यो बेला त्यहाँ पुननिर्माणका लागि ठुलो सङ्ख्यामा मजदुरहरूको आवश्यकता थियो । त्यो स्थितिमा त्यहाँ विदेशीहरूलाई युरोपमा आउनको लागि छुट मात्र दिइएको थिएन, तर उनीहरूलाई प्रोत्साहित पनि गरिएको थियो । तर, पछि विदेशीहरूको आगमनमाथि नियन्त्रण गर्न थालियो ।
युरोपमा ठूलो सङ्ख्यामा बेरोजगारी बढ्दै गयो । त्यसपछि जनस्तरमा नै विदेशी मजदुरहरूका ठाउँमा स्वदेशी मजदुरहरूको सङ्ख्या बढाउन माग बढ्दै गयो । उदाहरणका लागि, अहिले यूरोपका कतिपय देशमा मुख्यतः जर्मनीमा नवनाजीवादी आन्दोलन बढेर गएको छ, जसले त्यहाँ भएका विदेशीहरूलाई धपाउने आन्दोलन तीव्र पारेका छन् र कतिपय अवस्थामा भौतिक आक्रमण पनि गर्ने गरेका छन् ।
यूरोप र अमेरिकाका देशहरूमा एउटा ‘राष्ट्रवादी’ जनमत बढ्दै गइरहेको छ, जसले त्यहाँ विदेशी मानिसहरूलाई आफ्नो देशमा काम गर्न नदिने अभियान चलाइरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मुख्यतः त्यही नारा दिएर चुनाव जितेका थिए । उनले एक वा अर्को प्रकारले विदेशीहरूलाई आफ्नो देशबाट निकाल्ने कुरामा जोड दिने गरेका छन् । त्यसरी युरोप अमेरिकामा पहिले विदेशीहरूका लागि काम पाउन जति सजिलो थियो, अब छैन ।
भारतमा पनि पहिले नेपालीहरूले राम्रो नोकरीहरू पाउँथे । तर, अब त्यसप्रकारको स्थिति बदलिएर गएको छ । विभिन्न नोकरीहरूमा नेपालीहरूलाई कटौती गर्न विभिन्न राज्य सरकारहरूले कैयौँ कानुनहरू बनाउँदै गइरहेका छन् । जापानकै कुरा गरौँ, त्यहाँ गएका नेपालीहरूलाई काम पाउन अब पहिलेजस्तो सजिलो छैन ।
विभिन्न देशहरूको आर्थिक अवस्थाले पनि त्यहाँ विदेशीहरूको रोजगारीमा धेरै नै असर पार्ने गर्दछ । पुँजीवादभित्र विभिन्न समयमा गम्भीर प्रकारका आर्थिक मन्दी वा सङ्कटहरू पैदा हुने गर्दछन् । त्यो स्थितिमा उनीहरूले ठूलो सङ्ख्यामा कारखानाहरू बन्द गर्ने वा मजदुरहरूलाई छटनी गर्ने गर्दछन् । त्यो कारणले पनि संसारका कैयौँ देशहरूमा नेपालीहरूको रोजगारीमा असर पर्दछ
अहिले कोरोना भाइरसका कारणले विश्वव्यापीरूपमा नै स्वास्थ्यमा गम्भीर समस्या वा सङ्कट नै उत्पन्न भएको छ । विश्वव्यापी रूपमा नै ठूलो सङ्ख्यामा त्यो भाइरसबाट मानिसहरू सङ्क्रमित भइरहेका छन् वा उनीहरूको मृत्यु पनि हुने गरेको छ । पछिल्लो समाचारअनुसार अहिलेसम्म सवा लाख मानिसहरूको मृत्यु भइसकेको छ र त्यो सङ्ख्या बढ्दो क्रममा छ । त्यो रोगको अहिलेसम्म कुनै औषधी पत्ता लागेको छैन र आउने दिनहरूमा त्यसले कति क्षति पुर्याउने हो ? अनुमान गर्न गाह्रो छ ।
नेपालको नै कुरा गरौँ ।
अहिलेसम्म त्यसले महामारीको रूप लिइसकेको छैन र सरकारी रिपोर्टअनुसार त्यसबाट अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन । तर, सम्बन्धित सबै कुराहरूमाथि विचार गर्दा एकातिर, विश्वव्यापीरूपमा र हाम्रो छिमेकी देश भारतमा समेत त्यसको बढिरहेको सङ्क्रमण र अर्कातिर, त्यसमाथि नियन्त्रण गर्नका लागि देशभित्र आवश्यक साधन र स्रोत वा स्वास्थ्यसम्बन्धी उपकरण र जनशक्ति समेतको कमीमाथि विचार गर्दा त्यसले (कोरोना भाइरसले) व्यापक वा महामारीको रूप लिनसक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । अहिले त्यसको (कोरोना भाइरसको) देशमा सीमित असर परेको अवस्थामा पनि त्यसको रोकथामका लागि पर्याप्त तयारी भएको देखिन्न । यदि त्यसले देशव्यापी सङ्क्रमणको रूप लियो भने त्यसको सामना गर्नका लागि अहिलेसम्म भएको तयारी कति धेरै अपर्याप्त हुनेछ ? कसैले पनि त्यो कुराको अनुमान गर्न सक्छ ।
अहिलेसम्म पूरै संसार र नेपाल पनि कोरोना भाइरसको स्वास्थ्यसम्बन्धी समस्यासित नै जुधिरहेको छ । तर, हामीले आशा गरौँ वा हामीलाई विश्वास पनि छ, अहिले विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरसको समस्या लामो समयसम्म रहिरहने छैन र मानवजातिले त्यसमाथि नियन्त्रण गर्ने वा विजय प्राप्त गर्नेछ ।
तर, त्यो समस्याको समाधान भए पनि त्यसले आफ्नो पछाडि विश्वव्यापीरूपमा नै गम्भीर प्रकारका असरहरू छोडेर जाने छ । त्यसको सबैभन्दा ठूलो असर अर्थतन्त्र र जनजीवनमा पर्नेछ । पहिले विभिन्न देशमा भएका भूकम्प, बाढीपहिरो, सुनामी आदि प्राकृतिक घटनाहरू वा युद्धहरू समेतका कारणले अर्थतन्त्रमा वा जनजीवनमा पर्ने गरेका असरबारे हामीलाई थाहा छ । तर, हामीले पुनः कोरोना भाइरसको परिणामस्वरूप पर्ने असर ती सबैकोभन्दा बढी हुने छ । किनभने, यो कुनै देश वा महादेशभित्र मात्र सीमित नरहेर त्यसले विश्वव्यापी रूप लिएको छ ।
अहिले लकडाउनको स्थितिमा नै धेरै देशहरूका अर्थतन्त्रहरूमा गम्भीर प्रकारको सङ्कट देखापर्न थालेको छ र त्यसको असर व्यापक जनसमूहको जीवनमा पर्न थालेको छ । लकडाउनका कारणले कैयौँ देशहरूका उद्योगधन्दाहरू बन्द भएका छन् र मजदुरहरूको रोजगारी समाप्त भएको छ । व्यापार वा त्यही प्रकारका अन्य कारोबारहरू पनि क्षतिग्रस्त हुँदै गएका छन् । त्यसको असर कृषि, व्यापार आदिमा पनि परेको छ ।
बताइरहनुपर्ने आवश्यकता छैन कि, कोरोना भाइरसले आफ्नो पछाडि विश्वव्यापीरूपमा आर्थिक मन्दी र सङ्कटको स्थिति पैदा गर्नेछ । त्यसको परिणामस्वरूप संसारभरि नै नेपालीहरूको रोजगारीमा पनि ठूलो कटौती हुनेछ । खाडीका देशहरूमा अहिले नै त्यसको असर परिसकेको छ । अन्य देशहरूमा पनि त्यसको असर पर्दै जाने छ । त्यसको परिणाम यो हुनेछ कि विदेशमा गएका नेपालीहरू ठूलो सङ्ख्यामा नेपालमा नै फर्केर आउनु पर्नेछ ।
अहिले लकडाउनका कारणले विभिन्न देशहरूमा वा भारतको सीमामा थुनिएर बसेका नेपालीहरू पनि स्थिति सहज हुने बित्तिकै नेपालमा आउन थाल्नेछन् । त्यो अवस्थामा नेपालमा आउने रेमिटेन्स त कम हुने नै छ, त्यसका साथै नेपालमा बेरोजगारीको ठूलो समस्या पैदा हुनेछ । त्यो स्थितिलाई कसरी समाधान गर्ने, त्यसप्रति सबैको ध्यान जानुपर्ने आवश्यकता छ । त्यसको समाधान खाली एउटै तरिकाले हुन सक्दछ- त्यो हो – देशलाई बनाउने ।
देशलाई बनाउनु भन्नुको अर्थ हुन्छ – उत्पादनमा वृद्धि । पुनः त्यसको अर्थ हुन्छ, कृषि र उद्योगधन्दाको विकास । अहिलेसम्म स्वयं देशमा कुनै उत्पादन वा विकास नगरिकन विदेशबाट आएको आयात सहयोग, ऋण वा रेमिट्यान्सको आधारमा बाँचिरहेको नेपालका लागि त्यसो गर्नु सजिलो हुने छैन । वास्तवमा त्यो एक प्रकारको बोझ नै हुनेछ । तर, उत्पादनको वृद्धि र देशको विकास वा देशलाई आत्मनिर्भर बनाउनुबाहेक हाम्रा अगाडि अन्य कुनै विकल्प छैन ।
उत्पादनको वृद्धि या देशको विकासका लागि सबैभन्दा महत्त्वको कुरा राजनीति नै हो । राजनीतिको केन्द्रबिन्दुमा राजनीतिक पार्टीहरू वा सरकार नै हुन्छन् । तिनीहरू मध्ये पनि प्रत्यक्ष रूपले सरकारको भूमिका नै निर्णयात्मक हुन्छ । किनभने, सरकारले कुन प्रकारको नीति वा योजना बनाउँछ र त्यसको भूमिका कुन प्रकारको हुन्छ ? त्यसले सबै कुराको निर्धारण गर्दछ ।
तर, सरकारको भूमिका राजनीतिक दलहरूसित सम्बन्धित हुन्छ । राजनीतिक दलहरूको चरित्र कुन प्रकारको छ ? त्यसले सरकारको नीति वा भूमिकालाई निर्धारित गर्दछ । तर, यो कुरा प्रत्यक्ष रूपमा नै सत्य हो । अप्रत्यक्ष रूपमा जनताको भूमिका निर्णयात्मक हुन्छ । आखिरीमा कुन दललाई बहुमतमा लैजाने ? त्यो कुराको अन्तिम फैसला जनताले नै गर्दछन् । विभिन्न सरकारहरूले राम्ररी काम गरेनन् वा उनीहरू गैरजिम्मेवार वा भ्रष्ट भए भनेर निकै कुराहरू उठ्दछन् ।
अन्त्यमा तिनीहरूलाई सत्तामा पुर्याउने जनता नै हुन्छन् । त्यसरी एकातिर, राजनीतिक दल र सरकार र, अर्कातिर, जनता । यी दुई पक्षहरू आपसमा घनिष्ठ रूपले जोडिएका हुन्छन् र तिनीहरूलाई एकअर्काबाट अलग गरेर हेर्न मिल्दैन र सकिँदैन पनि । ती दुवै पक्षहरूको भूमिका वा तिनीहरूको प्रकृतिले नै देश अगाडि बढ्छ वा बढ्दैन ? त्यो कुराको फैसला गर्दछ । तैपनि जनताको पक्ष एउटा अप्रत्यक्ष र अमूर्त रूप हो ।
तर, सरकारको पक्ष प्रत्यक्ष र मूर्त रूप हो । त्यसकारण आजको परनिर्भर आयातमुखी देशको अर्थतन्त्र मात्र होइन, सम्पूर्ण जीवनप्रणालीलाई नै बदल्न सकिन्छ वा सकिँदैन त्यो कुराको फैसला सरकारको नीति वा भूमिकामाथि नै निर्भर गर्ने कुरा प्रस्ट छ ।
यसबारे हामी स्पष्ट हुनुपर्दछ कि, अहिले सरकारको जुनप्रकारको चरित्र, भूमिका वा कार्यशैली रहेको छ, त्यसको आधारमा अहिलेको देशको अवस्थामा सुधार वा विकास सम्भव छैन । गएको एक वर्षको अवधिमा नै जुनप्रकारका घटनाहरूमा सरकार एकपछि अर्को गर्दै मुछिदैं गएको छ, खास गरेर भ्रष्टाचार र कमिसनसम्बन्धी काण्डहरू । त्यसप्रकारका काण्डहरू देशभित्र प्रशासनयन्त्र, तस्कर, व्यापारी घरानाहरूसम्म मात्र सीमित नरहेर तिनीहरू बहुराष्ट्रिय कम्पनीहरूसित पनि जोडिने गरेका छन् । त्यसले के स्पष्ट गर्दछ भने त्यसप्रकारको कार्यशैलीका आधारमा देशको बिकास निश्चित रूपले सम्भव छैन । गतकालमा जुन प्रकारका काण्डहरू घट्दै गइरहेका छन्, तिनीहरूसित सरकारको उच्च तह संलग्न छैन भन्ने कुराको जनतालाई विश्वास दिलाउन सरकार असफल हुने गरेको छ । त्यसप्रकारको चरित्र वा कार्यशैलीका आधारमा सरकारले देशलाई कहाँसम्म अगाडि बढाउन सक्नेछ, त्यसबारे निश्चित रूपले केही भन्न सकिने स्थिति छैन ।
देशको विकासsf लागि यो निर्णयात्मक शर्त हो कि सरकारको त्यसप्रकारको चरित्र वा कार्यशैलीमा सामान्य प्रकारको सुधार मात्र होइन, आधारभूत रूपमा नै परिवर्तन हुनुपर्दछ । त्यसप्रकारको परिवर्तन कसरी सम्भव छ, देशका सबै राजनीतिक दल सरकार वा जनताले समेत गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता छ ।
तर, त्यसप्रकारको परिवर्तन हुन सक्छ वा सक्दैन त्यो कुरा आउने दिनहरूमा नै प्रस्ट हुँदै जानेछ । तर, एउटा कुरा प्रष्ट र निश्चित छ, त्यसप्रकारको परिवर्तनविना देश अगाडि बढ्न सक्ने छैन, चाहे सय वर्षको लामो समय नै किन नबितोस् ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहसँग अनलाइन खबरले गरेको कुराकानीको सम्पादित अंश ।







