स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि स्पष्टिकरण माग्दै पत्र पठाएको छ। शुक्रबार पुनको नाममा टेकुस्थित अस्पतालमै पत्र पठाएको पुनको दावी छ।

‘मिडियामार्फत् धेरै नबोल्न पहिलेदेखि नै एक खालको दवाव थियो। अब चाहिँ पत्राचार गरेरै स्पष्टिकरण मागिएको रहेछ,’ पुनले भने। पत्र अस्पतालको प्रशासनमा आइपुगे पनि आफ्नो हातमा भने नपरेको जानकारी दिए।

मिडियामा धेरै देखिएको र कोरोनाबारे आवश्यक जानकारी दिएकै कारण समस्या सिर्जना भएको उनको दावी छ। साथै आफूमाथि अस्पतालमा उपचाररत् बिरामीहरुको नम्बर सार्वजनिक गरेको समेत आरोप लागेको बताए।

‘यो सबै फसाउनका लागि चालिएको कदम हो। मैले त आफूलाई जानकारी भएको सूचना, सावधानीका उपायहरु बताएको हुँ। यो मेरो पेशागत् धर्म हो,’ उनले भने, ‘मलाई भ्रमण र भत्ताको लोभ छैन। सार्वजनिक हितका लागि आवश्यक जानकारी दिइरहन्छु।’

डाक्टर पुन टेकु अस्पतालको क्लिनिकल अनुसन्धान विभागको संयोजक हुन्। पुनले भने मौखिक जवाफपछि पत्र आएको जानकारी दिए।

सह सचिव रघुराम विष्टले भने पत्र पठाएको स्वीकार्दै भने, ‘कर्मचारीको सरुवा बढुवा हुन्छ। अनेक हुन्छ। पत्राचार हुनु स्वभाविक हो नि।’

आफूहरुले केही जानकारीका लागि डाक्टर पुनलाई मन्त्रालयमा बोलाउँदा उनी उपस्थित नभएपछि पत्र पठाएको बताए। उनले भने, ‘उहाँ काममा हुनुहुन्छ। त्यसैले केही छलफलका लागि बोलाएका हौं। उहाँले पत्रै नहेरी किन र कस्तो पत्र नबुझी किन सार्वजनिक रुपमा बोल्नु भयो थाहा छैन।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार