तपाईँले कोरोनासँग जुध्न सबै सहभागी भएको एउटा उच्चस्तरीय संयन्त्र पनि आवश्यक छ भन्नुभएको थियो तर अघि बढ्न सकेन नि, किन ?

मैले राष्ट्रिय सहमति र समझदारीको अझ राम्रो वातावरण बनोस् र यो महामारीका विरुद्ध जुध्न आवश्यक शक्ति तयार होस् भनेरै भनेको थिएँ । मैले अहिले मात्रै होइन जहिले पनि भन्दै आएको छु । मैले भन्ने मात्रै होइन आफू प्रधानमन्त्री या प्रतिपक्ष दलको नेता भएको बेलामा पनि गरेर देखाएको छु । मैले प्रष्ट अघि बढेरै गरेको कुरा हो ।

साथीहरुलाई अहिले के गर्न खोजेको भन्ने लाग्यो । कसैका विरुद्ध यो नियोजित ढंगले गर्न खोजेको विल्कुलै थिएन । जस्तो बने पनि प्रधानमन्त्रीकै नेतृत्वमा हुनुपर्छ है नभए फेरि त्यो प्रभावकारी हुँदैन भनेको थिएँ । केही साथी र प्रधानमन्त्रीलाई सहज लागेन । सहज लाग्दैन भने मैले बनाउने कुरा पनि होइन, प्रधानमन्त्रीले धेरै दबाब ठान्न पर्दैन ।

कतिपयले यसलाई सरकार ढलाउने षडयन्त्रका रुपमा बुझे नि !

त्यो विल्कुलै गलत हो । सरकार ढलाउँछु भन्ने सोच्नु आफैँमा कुण्ठा मात्रै हो । त्यो हुनै सक्दैन ।

अहिले पार्टी र सरकारबीचमा केही द्वन्द्व देखिएको हो ?

पार्टीको अध्यक्ष नै प्रधानमन्त्री हुनुहुन्छ । पार्टीको नेताहरु नै मन्त्री हुनुहुन्छ । त्यसकारण प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार पनि यहाँ अन्तरविरोध हुनुपर्ने कुनै कारण होइन र छैन पनि । तर बीचबीचमा फेरि सरकारको काम कति प्रभावकारी भयो भन्ने कुराले पार्टीलाई र पार्टीको काम कति प्रभावकारी भयो भन्ने कुराले सरकारलाई असर त गरेकै हुन्छ । विवाद बेला बेलामा उठ्नु स्वाभाविक पनि हो । त्यस्तो विवाद बेला बेलामा बैठकमा उठ्ने पनि गरेका छन् । त्यसलाई समाधान गर्दै पनि लगेका छौँ ।

दुई अध्यक्षबीचको सम्बन्ध कस्तो छ ?

यो पार्टी एकतामा ल्याउनका लागि मुख्य भूमिका दुईजना अध्यक्षकै हो भन्ने कुरा तथ्यले पनि पुष्टि भएको कुरा भयो । पहलकदमीको हिसावले पनि दुईजना अध्यक्षको बीचमा समझदारी भएपछि केन्द्रीय कमिटीको बैठक राखेर टुंग्याइएको विषय हो । दुईजना अध्यक्षको सम्बन्ध भनेको धेरै नै संवेदनशील छ । अझ एकता महाधिवेशन नहुँदासम्म झनै संवेदनशील छ ।

दुईजना अध्यक्षको बीचमा छलफल राम्रो हुँदा पार्टी, सरकार र देश पनि राम्रोसँग जान्छ । दुईजना अध्यक्षको बीचमा अविश्वास भयो र आशंकाको स्थिति भए पार्टी, सरकार र देश पनि अप्ठेरोमा जान्छ । हामी शनिबार बसेर यो विषयमा गम्भीर समीक्षा पनि गरेका छौँ । हामी दुई अध्यक्ष मिल्नै नसक्ने ठाउँमा पुगेका छैनौँ ।

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग बाह्रखरीका बलराम पाण्डेले हालैं गरेको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार