
तपाईले त अहिलेका प्रधानमन्त्री केपी ओलीसँगै त्यो बेलामा जेल जीवन पनि बिताउनुभयो । उहाँको विचार पनि बुझ्नु भएको छ । के उहाँमा क्षमता नै नभएको हो र ?
मैले त उहाँ (केपी शर्मा ओली) लाई लामै समय भयो चिनेको । मसँगै उहाँ पनि जेल पर्नुभएको हो । अहिले प्रधानमन्त्री हुनुभएको छ । ओलीजी गफ बढी गर्ने, काम कम गर्ने मान्छे हो । देखिहाल्नु भएको छ, आफ्ना नजिकका र मन्त्रीहरुले भ्रष्टाचार गर्दा पनि कारवाही गर्नुपर्नेमा उल्टै संरक्षण गरिरहनुभएको छ भन्दा उहाँ कस्तो खालको मान्छे भनेर सबैले बुझिसकेका छन् ।
कम्युनिस्ट पार्टी र सरकार कस्तो हुनुपर्दथ्यो तपाईंको विचारमा ?
कम्युनिस्ट पार्टी भनेको सर्वहारा र अर्ध सर्वहारा वर्ग र मजदुर किसान वर्गको हो । यो अहिलेको पार्टी त कम्युनिस्ट पार्टी नै होइन । यो त बुर्जुवाहरुले चलाएको पार्टी हो । त्यही भएर सरकार पनि निकम्मा भयो । विदेशी दलालहरुले जे भन्छन्, त्योमात्रै गर्छन् तर कम्युनिस्टको नाम बेच्छन्, त्यस्तो छ यो सरकार । त्यसकारण यस्तो बुर्जुवा सरकारलाई कसले भन्छ कमयुनिस्ट सरकार ? कम्युनिस्ट पार्टी भनेपछि त कमसे कम पनि जनताको हक र हितका लागि काम गर्ने, जनतालाई परेको पिरमर्का निवारण गर्ने, देशको आर्थिक विकास गराउनतर्फ लाग्ुनपर्ने हो । लाखौँ नेपाली जनता रोजगार खोज्दै विदेश गएका छन् । उनीहरुले रेमिट्यान्स पठाएर यहाँ सरकार पालिएको छ । आफ्नै देशमा काम गर्ने र उब्जनी बढाउने माहोल बनाउनुपर्ने हो तर त्यसतर्फ केही काम नै हुन सकेन ।
धेरै लामो समय तपाई पनि अहिले सरकारमा रहेको पार्टीमै रहेर राजनीति गर्नुभयो । तर धेरै निराशा व्यक्त गर्नुभयो । तपाईको निराशाले अरु जनताको पनि प्रतिनिधित्व गर्छ ?
म के निराश हुनु ? म निराश छैन । म निराश भएको भए तपाईले मलाई सम्पर्क नै गर्न सक्नुहुन्न थियो । त्यसैले म जनतालाई पनि भन्छु, जनता पनि निराश हुनुपर्दैन । जनताले चाहे भने यस्ता सरकारलाई सजाय दिन्छन् । राजा–महाराजाहरुको सरकार त जनताले ढाले । अरु पार्टीका सरकार पनि जनताले ढालेका छन् । आन्दोलन गर्ने अधिकार त जनताको छ नि अझै । यो व्यवस्था त नेपाली जनताले रगत बगाएर र सहादत प्राप्त गरेर ल्याएको हो नि, त्यसकारण नेपाली जनता बहादुर छन् । उनीहरुले चाहेभने जस्तोसुकै सरकार पनि ढाल्छन् ।
रातोपाटी अनलाइनसँग गरेको कुराकानीको छोटो अंश ।







