
पार्टी फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएका कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक गृहकार्य थालेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशले तरङ्ग ल्याएका बेला प्रधानमन्त्री ओलीले संघीय सांसदहरूलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले अध्यादेशबारे छलफल गर्न सांसदहरूलाई बुधवार बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी रुपमा ‘राजनीतिक दलसम्बन्धी अध्यादेश’ ल्याएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई खेमा विभाजित देखिएका छन् ।
पूर्व माओवादी र पूर्व एमालेका केही नेताहरू नै प्रधानमन्त्री ओलीसँग रुष्ट रहेका बेला उनले सांसदसँग छलफल अगाडि बढाएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार सम्बन्धी कार्यविधि पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गरेको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेशबारे विमति राख्ने सांसदलाई फकाउन बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीको कदमबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल लगायतका नेताहरू असन्तुष्ट रहेका छन् ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । प्रधानमन्त्रीले बुधवार सबैभन्दा पहिले सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिसकेका छन् ।
ओलीले प्रदेश नम्बर १ का सांसदहरूसँग ११ बजे, बाग्मतीका सांसदहरूसँग १ बजे, गण्डकी दिउँसो ३ बजे, प्रदेश नम्बर ५ का सांसदसँग दिउँसो ४ बजे र कर्णाली प्रदेशका सांसदहरूसँग साँझ ५ बजे छलफल गर्ने कार्यक्रम तय भएको थापाले बताएका छन् ।
प्रदेश नम्बर २ का सांसदहरूसँग बिहीबार बिहान छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।







