
केपी ओली सरकारको जनघाती र राष्टघाती कदमका विरुद्ध संघर्षमा उत्रन नेकपाका महासचिव विप्लवले देशवासीका नाममा खुला अपिल गरेका छन् ।
विप्लवले ओली सरकारले कोरोना महामारीमा जनताको पीडामा थप पीडा मात्र थोपरिरहेको भन्दैं यस्तो सरकारकाविरुद्ध संघर्षमा जानुको विकल्प नरहेको बताएका छन् ।
लेनिनजयन्ती र कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा महासचिव विप्लवले देशमा देखा परिरहेको संकट विद्यमान राज्यव्यवस्था र त्यसको असफलताले पैदा गरेको संकट भन्दैं वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्न अपिल गरेका छन् ।
महासचिव विप्लवद्वारा बुधबार जारी वक्तव्यमा भनिएको छ, ‘आज २०७७ वैशाख १० (अप्रिल २२, २०२०) को दिन नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको र नेपाली श्रमिक जनताले कम्युनिस्ट पार्टी प्राप्त गरेको ऐतिहासिक दिन हो । यो दिन साम्यवादी विचारक एवम् सर्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गर्दै मानवसभ्यताको सबैभन्दा अग्रगामी क्रान्तिकारी वैज्ञानिक पार्टी प्राप्त भएको खुसीयालीमा श्रमिक वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट गौरव व्यक्त गर्दछौँ ।’
पार्टी स्थापना दिवसको औचित्य र महत्व दर्साउँदै महासचिव विप्लवले वक्तव्यमा भनेका छन्, ‘कमरेड पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीको मुख्य उद्देश्य नेपालमा सामन्ती तथा दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध क्रान्ति पूरा गर्न विभिन्न साम्राज्यवादी, विशेषतः भारतीय साम्राज्यवादी हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउने र जनताको नयाँ जनवादी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने थियो । चारजनाले स्थापना गरेको कम्युनिस्ट पार्टी आज बहुसङ्ख्यक जनता आबद्ध र आस्थावान् बन्ने उचाइमा पुगेको छ ।’
महासचिव विप्लवले केपी वली सरकारको फासिवादी चरित्रका बारेमा थप उल्लेख गर्दै र क्रान्तिकारी, देशभक्तहरूलाई एक हुन आह्वान गर्दै वक्तव्यमा भनेका छन्, ‘दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जाली–झेली भ्रष्ट, राष्ट्रघाती, जनघाती एवम् दलाल चरित्रमा निस्किनै नसक्ने गरी डुबेर बदनाम, असफल, सङ्कटग्रस्त केपी गुट र सरकार कुनै पनि हालतमा सत्ता छोड्न नचाहने, बरु सम्पूर्ण सामाजिक मूल्य–मान्यताहरूलाई फासिवादको पैतालामुनि दबाएर सत्ता हत्याउन लागिपरेको छ । यसले नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति र समाजवादी सत्ता निर्विकल्प बन्न पुगेको सत्य स्थापित भएको छ । तसर्थ यो ऐतिहासिक पार्टी स्थापना दिवसका अवसरमा हामी जिम्मेवारीबोधका साथ केपी वलीको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आग्रह गर्दछौँ ।’
विज्ञप्तिको पूर्णपाठ…..








