अहिलेको नेतृत्वलाई युवाहरु आएर हुत्याइदिनुपर्‍यो

अहिले जो कम्युनिष्टको नेतृत्वकर्ता भनिरहेका छन् उनीहरुलाई युवाले आएर हुत्याइदिनुपर्छ । तपाईंहरुको काम सकियो, तपाईंहरु आफ्नो अतीतको स्मरण लेखेर बस्नुस् राजनीति चाहिँ हामी गर्छौं भन्ने पीढी जन्मनुपर्‍यो अब ।

आज हाम्रो पार्टी जन्मिएको दिन हो । लेनिनको जन्मदिन पनि हो । महान लेनिन जसले मार्क्सवादी विज्ञानलाई एउटा क्रान्तिको विज्ञान र व्यवहारिक विज्ञानको रुपमा लैजान ठूलो भूमिका खेले । लेनिनकै कारण मार्क्सवादी विज्ञान विश्वव्यापी भएको हो । त्यसैले जहिले पनि एउटा नवीनतम विचार आउनुपर्छ । त्यसका लागि छलफल गनुपर्‍यो ।

मार्क्सवाद पनि मार्क्सको दिमागबाट फुत्त झरेको होइन । अहिले पनि नेपाललाई कसरी अगाडि बढाउने, नेपालका समस्याहरु कसरी समाधान गर्ने, नेपालका पर्यावरणलाई कसरी जोगाउने, नेपाल कस्तो छ, नेपाली जनताको स्थिति कस्तो छ लगायत तमाम विषयमा छलफल गरेर अघि बढ्नुपर्छ । तर, अहिलेको नेतृत्वले त्यो आँट गर्न सक्ला जस्तो लाग्दैन । अहिलको नेतृत्वलाई हुत्याइदिन नयाँ युवा शक्तिले हस्तक्षेप गर्नुपर्ने देखिन्छ ।

भ्रष्टहरुसँगको हिमचिम

देशमा कम्युनिष्ट पार्टीले शासन चलाउने, अनि मन्दिर र धामीझाँक्रीको संख्या बढ्दै जाने । अन्धविश्वास र बोक्सीप्रथा बढ्दै जाने । यस्तो पनि हुन्छ कहीँ ? अहिले त विचारको बन्ध्याकरण भएको छ । यतिका वर्षसम्म संघर्ष गरेर आएको भनिए पनि उहाँहरु (नेतृत्व) को दिमाग अर्चापिएकै रहेनछ ।

उहाँहरुको दिनचर्याकै कुरा गरौं । कहिल्यै पढ्नुभएको छ ? कहिल्यै छलफल गर्नुभएको छ ? उहाँहरुसँग डिबेट गर्ने मान्छे उहाँहरुका घरमा कहिल्यै देखिँदैनन् । उहाँहरुसँग त सिफारिस गरिमाग्ने, सरुवा गरिमाग्ने र नियुक्ति गरिमाग्ने मान्छेहरु मात्रै वरिपरि रहन्छन् ।

तर्कवितर्क गर्ने, सजग गर्ने र गराउने, असहमति जनाउने मान्छेहरुसँग उहाँहरुले कहिल्यै भेटघाट नै गर्नुहुन्न । पार्टीभित्र यी सबै माहोल बनाइएको भए आज यत्रो ठूलो पार्टी बन्दा समेत किन संकटहरु आइपरिरहेका छन् त ? उहाँहरुको त हिमचिम नै भ्रष्ट, दलाल र घुसखोरीहरुसँग मात्रै भयो । यसले त कसरी कम्युनिष्टको परिभाषा दिन सकिएला र खै ?

कार्यकर्ताले ठेगान लगाउनुपर्‍यो

नेतृत्वलाई कार्यकर्ताले ठेगान लगाउनुपर्ने समय आएको छ । ठाउँ ठाउँमा बसेर विचार विमर्श गरेर पार्टीलाई क्रान्तिकारीकरण गर्नुपर्ने समय आएको छ । कम्युनिष्ट पार्टीलाई कार्यकर्ताहरुले क्रान्तिकारीकण गर्नुपर्ने समय आएको छ । उद्देश्य पनि नयाँ तय गर्नु पर्नेछ । पुराना उद्देश्यले अबको जीवनशैली परिवर्तन गर्न सकिने अवस्था रहँदैन । हिजोको उद्देश्यले आज र भोलिको आवश्यकता थेग्न नै सक्दैन । त्यसैले नयाँ उद्देश्यसहित नेतृत्वलाई ठेगान लगाउन कार्यकर्ताहरु जुर्मुराउने समय आइसकेको छ । देशलाई भन्दा पहिले पार्टीलाई क्रान्तिकारीकरण नगर्ने हो भने अघि बढ्न निक्कै समस्या हुने मैले देखेको छु ।

अहिलेको नेतृत्वबाट आशा गर्ने ठाउँ छैन

कम्युनिष्ट पार्टीको सरकार छ । हाम्रै साथीहरु सरकारमा हुनुहुन्छ । कतिपय साथीहरुलाई चाहिँ नेताहरुलाई नै रिझाएर केही गर्न सकिन्छ कि भन्ने लाग्न थाल्यो । मन्त्री लगायत पदको आशामा पनि कति साथीहरु नेतालाई रिझाउने दौडमा हुनुहुन्छ । अनि नेतृत्वले पनि पछिल्लो समय जथाभावी निर्णय गर्दै हिँडेको अवस्था छ । यसरी त कसरी कम्युनिष्टको आभाष दिन सकिएला र ?

शक्तिको स्रोत भनेको नै जनता हो । जनतालाई नै नबुझी आफुखुसी निर्णय गर्दै हिँडेपछि कसरी हुन्छ र ? समाजवाद प्राप्त गर्ने भनेको त समाजवादी बाटोबाट होला । समाजवादी तरिकाले होला । अर्को कुनै तरिकाले त समाजवाद आउँदैन । सामन्तवादको तरिकाले समाजवाद आउने भएको भए त उहिल्यै आउनुपर्ने हो नि । त्यसैले समाजवादी तरिका अख्तियार गर्नका लागि सबैभन्दा पहिले पार्टी प्रणालीमा हिड्नुपर्‍यो । तर, अहिलेको नेतृत्व सामन्तवादी व्यवहारमा लिप्त भएको हामी पाउँछौँ ।

राजनीतिक पार्टी त जीवन्त हुनुपर्ने हो । पार्टीलाई लथालिंग छाडिदिएर केहीले सत्ता कब्जा गर्न पाएकोमा अहोभाग्य ठानिरहेका छन् । उहाँहरुको नियत त सफा हुनुपर्‍यो नी । प्रक्रिया र प्रद्धति नै नअपनाएपछि त पार्टी अब पार्टी नै कहाँ रह्यो र ?

अहिलेको नेतृत्वबाट यी सबै कुराहरु सम्भव छैन । जस्तै राजदूत नियुक्त गर्नुपर्‍यो भने उहाँहरुले पार्टीलाई सोध्नुहुन्न । केही निर्णय गर्नुपर्‍यो भने आफूखुसी गर्नुहुन्छ । आफै मात्रै सर्वोपरी भन्ने उहाँहरुलाई लागेको छ । यसरी पार्टी चल्दैन । नयाँ नेतृत्व आउनुपर्छ सरकार र पार्टी दुबैमा । यस्तो तरिकाले कम्युनिष्टको नारा मात्रै जप्नुको कुनै अर्थ छैन ।

साझापोष्ट अनलाइनसँग सत्ताधारी नेकपा नेता राम कार्कीसँग गरेको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार