यसअघिसम्म प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको र विभिन्न काण्डहरु ढाकछोप गरेको आरोप लाग्दै आएका थिए । तर, सांसद डा. सुरेन्द्र यादव प्रकरणसम्म आइपुग्दा सरकार फौजदारी गतिविधिमै संलग्न हुन थालिसकेको प्रष्ट भएको छ ।

नेकपाका सांसद महेश बस्नेत र किसान श्रेष्ठको साथ लागेर नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले जे–जस्तो काम गरे, यो कतैबाट पनि जायज थियो भन्न सकिने ठाउँ छैन । भलै, उनीहरुले बालुवाटारको आदेश तामेली मात्रै गरेका हुन् ।

पूर्वआइजीपी खनाल नेकपाका नेताहरुको ‘गोटी’ रहेछन् भन्ने कुराको खुलासासँगै उनको विगतको काममाथि पनि आम नागरिकले प्रश्न उठाउन थालेका छन् ।

लकडाउनमा जनतालाई घरभित्रै बस्न सरकारी उर्दी जारी भएका बेला समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई लिन उनीहरु प्रधानमन्त्री ओलीकै निर्देशनमा मंगलबार जनकपुर गएको पाइएको छ । र, यसले ओली सरकारको श्वेत आतंकलाई सतहमा ल्याइदिएको छ ।

सत्तारुढ नेकपाका केन्द्रीय नेता युवराज चौलागाई भन्छन्, ‘सरकार र नेकपाका केही नेताहरुको समेत संलग्नतामा अर्को दलका केही सांसदहरुलाई जबर्जस्ती होटलमा राखिएको र उनीहरुको दल दबावमूलक ढंगले विभाजन गर्न खोजिएको संगीन आरोप लागेको छ । यससम्बन्धी सत्य–तथ्य के हो ? नेपाल सरकार र नेकपाले सार्वजनिक रुपमा प्रष्ट पार्नुपर्छ । हो भने यो लज्जास्पद र अक्षम्य अपराध हो ।’

नेकपाकै नेताले यो प्रकरणलाई ‘अक्षम्य अपराध’ भनिसकेपछि बाहिरियाले थप टिप्पणी गरिरहनै परेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार