
सत्ताधारी नेकपाका पहिलो अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच शनिबार वालुवाटारमा प्रत्यक्ष आमनेसामने एकले अर्कोलाई सिध्याउने धम्की दिएका छन् ।
ओली र गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकीमात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए ।
तर, गौतमको यस्तो सुझाव सुनेर आक्रोसित बनेका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच विवाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए ।
‘तपाईले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाइको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव थियो ।
तर गौतमको सुझाव सुनेपछि ओली आक्रोसित मात्र भएन्न, गौतमलाई देखाइदिने धम्की नै दिएका थिए । ओलीले गौतमलाई धम्क्याउदै भनेका थिए, ‘यो त अति भो, पाटीभित्रैबाट यस्तो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइँन । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने हटाएर देखाउनुस् ।’







