
जनता कोरोना महामारीबाट आक्रान्त भइरहेको बेला सत्ताधारी नेकपाभित्र एक पक्षले कुर्सी जोगाउने र अर्को पक्षले भत्काउने घिनलाग्दो खेलले संसदीय व्यवस्थाको कुरुप दृश्य देखा परेको छ ।
प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहित वामदेव गौतमको ठूलो पंक्तिले केपी ओलीलाई प्रधानमन्त्री र विद्यादेवी भण्डारीलाई राष्टपतिबाट हटाएर आफ्नो अनुकूल नयाँ संरचना खडा गर्न भित्राभित्रैं कदम चालेपछि ओली समुह ठूलो संकटमा परेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली मनमौजी ढंगले अगाडी बढ्न लागेपछि अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल तथा वरिष्ठ उपाध्यक्ष वामदेव गौतसहितका नेताहरु यस्तो रणनीतिमा लागेको स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीले संविधान, कानुन र नियम मिचेर काम गर्ने र त्यसलाई कुनै विश्लेषणबिना लाहछाँप गर्ने कार्यले पार्टी बदनाम भएको र जनताले दिएको हाराहारी दुई तिहाइ मतको दुरुपयोग भएको विष्लेषण नेताहरुको छ ।
यसका लागि नेताहरुले गत ८ गते मन्त्रीपरिषद्को सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले प्रमाणित गरेका राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई इश्यु बनाएका छन् ।
चर्को आलोचना भएपछि मन्त्रीपरिषदले १२ गते फिर्ता लिने निर्णय गर्यो, भण्डारीले पुनः कुनै विश्लेषण नगरी लाहछाँप लगाइन । यसले नेकपालाई नै लज्जित बनाएको नेताहरुको बुझाइ छ ।
प्रधानमन्त्री ओलीले गर्ने सबै कामको साक्षीमात्रै बस्ने काम राष्ट्रपति भण्डारीले गरेकाले उनी र प्रधानमन्त्रीको विकल्प खोजेर नयाँ शीराबाट अगाडी बढ्ने तयारीमा नेकपाका नेताहरु लागेका हुन । त्यसका लागि अहिले नेता नेपाल निवास कोटेश्वर र प्रचण्ड निवास खुमलटारमा दिनदिनै छलफल भइरहेका छन् ।
ओलीलाई गलत काम गर्न सुझाव दिने र कार्यकारीबाट भएको गलत कामलाई राष्ट्रको अभिभावक भएका नाताले सच्याउनु पर्नेमा जस्तो छ, त्यस्तै सहीछाँप लगाउने काम भण्डारीले गर्दै आएकी छन् ।
त्यसको उदाहरण राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिन सकिन्छ, त्यो भन्दा पर पुग्नै पर्दैन । ओलीको पर्दा पछाडीको खेलाडी नै भण्डारी रहेको निष्कर्षमा नेताहरु पुगेका छन् ।
स्रोतका अनुसार राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्रीमा प्रचण्ड र नेकपा अध्यक्षमा माधवकुमार नेपाललाई बनाउने गरी छलफल अगाडी बढिरहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री र तत्कालिन एमाले अध्यक्ष हुँदा राम्रो काम गरेर देखाएका र भद्र शालीन नेतालाई राष्ट्रपति बनाउने योजनामा विपक्षी दलले समेत साथ दिने नेताहरुको बुझाइ छ । त्यस विषयमा अनौपचारिक रुपमा कांग्रेससँग पनि नेताहरुले छलफल गरेको बुझिएको छ ।
ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट हटाउँने तयारी नेताहरुको छ । केही दिन अगाडीको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष र प्रधानमन्त्री छोडेर आरा मगर्न ओलीलाई सुझाव पनि दिएका थिए ।
पहिला प्रधानमन्त्रीबाट ओलीलाई गलहत्याएपछि राष्ट्रपति भण्डारीलाई राजीनामा दिने कि संसदबाट महाअभियोग लगाउँ भनेर अफ्टेरोमा पार्ने तयारी नेताहरुको छ । त्यसको गृहकार्य अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् ।







