
पार्टीमा सबैतिर एक्लिएका प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका पहिलो अध्यक्ष केपी ओलीले आफ्नोविरुद्ध गतिविधी गरिरहेका प्रभावशाली नेताहरुमाथि उच्चा निगरानी बढाएका छन् ।
उच्च स्रोतका अनुसार उनले प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) समेतलाई परिचालन गरेका छन् । आफूविरुद्ध मोर्चाबन्दी गर्ने र आलोचना गर्ने नेताहरुमाथि नै ओलीले निगरानी बढाउन लगाएका हुन् ।
त्यसका लागि उनले गुप्तचरका प्रमुख गणेश अधिकारीलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्रीकै निर्देशनअनुसार उनले पार्टीकै नेताहरुको गतिविधिमाथि निगरानी थालेको बताइएको छ । ती नेताहरुबारे प्राप्त हुने सूचना अनधिकृतरुपमा उनले प्रधानमन्त्रीसम्म पुर्याउने गरेको स्रोतको भनाइ छ ।
ओलीले पार्टीभित्र नै राज्यसंयन्त्र परिचालन गरेपछि नेकपाका केही नेताहरुबीच यसबारे समेत छलफल भएको स्रोत बताउँछन् । ‘ओलीले एक पछि अर्को अलोकप्रिय काम गरेको जगजाहेरै छ । हुँदाहुँदा उनको गलत कार्यलाई गलत भन्नेहरुलाई छानीछानी निगरानी गर्न लगाउनु भएको देखिएको छ । यसले पार्टीलाई थप समस्या पार्छ ।’ स्रोतले भन्यो ।
विभागका प्रमुख अधिकारी दिलीपराज रेग्मीलाई पाखा लगाउँदै कमाण्ड सम्हाल्न पुगेका थिए । उनी पूर्वएमाले निकटकै भएकाले पनि ओलीको निर्देशनमा अहिले खुरुखुरु जिम्मेवारी पूरा गर्न लागिपरेको मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछन् ।
कोटेश्वरस्थित माधव नेपालको निवास, हात्तीबनस्थित नाारायणकाजी श्रेष्ठको निवास, खुमलटारस्थित प्रचण्ड निवास, भैंसेपाटीस्थित वामदेव गौतमको निवास र डल्लुस्थित झलनाथ खनालको निवास गुप्तचरको विशेष निगरानीमा परेको स्रोतको भनाइ छ ।







