
Prime Minister K P OLI addresses the nation at prime minister Residence, baluwatar Kathmandu on Sunday, November 15, 2015
Photo; Keshab Thoker/Nagarik/republica
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पूर्व एमाले समूहलाई एकजुट गराएर आफ्नो कुर्सी जोगाउन अन्तिम प्रयास असफल भएको छ ।
पूर्व माओवादी समूहबाट नेकपा अध्यक्ष भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनामा पूर्व एमालेबाट वरिष्ठ नेता बनेका झलनाथ खनाल र माधवकुमार नेपाल हिँडिरहेको बेला ओलीले पूर्व एमालेलाई एकजुट बनाउने प्रयास गरेका थिए । तर सफल नभएपछि ठूलो झड्का लागेको छ ।
प्रचण्डको नेतृत्वमा बनेको योजना अनुसार ओलीलाई प्रधानमन्त्रीबाट हटाउने रणनीति छ । जसलाई असफल पार्न ओलीले प्रयास गरेपनि आफैं असफल भइरहेका छन् ।
ओलीले असोजभित्रै पार्टीको महाधिवेशन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने भनेर राखेको प्रस्ताव नेपालले अस्वीकार गरेका छन् । ओलीले झुटा आश्वासन दिने र अन्तिममा धोका दिने प्रवृत्ति देखाउँदै आएका कारण नेपालले ओलीको प्रस्ताव नपत्याएको स्रोतले जनाएको छ ।
नेता नेपालले उधारोमा सहमति नहुने र असोजमा महाधिवेशन गर्न कुनै पनि हालतमा सम्भव समेत नभएकाले ओलीको प्रस्ताव ठाडै अस्वीकार गरिदिएको स्रोतले जनाएको छ ।
नेकपाका संगठित सदस्यको संख्या यकिन नभएको अवस्थामा असोजमै महाधिवेशनको सम्भावना नभएको नेपाल समूहको बुझाइ छ । पूर्व माओवादी पक्षले आफ्ना सदस्यहरूको विवरण समेत हालसम्म संगठन विभागलाई दिएको छैन । ओली र माधवले मिलेर मात्रै गर्ने महाधिवेशनमा प्रचण्डले सहमति नजनाउने र पार्टी एकताको भावना प्रकट नहुने कुरा समेत नेपालले ओलीसँग राखेका छन् ।
वरिष्ठ नेता नेपालले ओलीसँग सहमतिका लागि प्रधानमन्त्री र अध्यक्ष पदमध्ये एक पद छाड्नुपर्ने स्पष्ट अडान राखेका छन् । बालुवाटारमा ओलीसँगको छलफलअघि सोमवार नेपाल निवास कोटेश्वरमा बसेको बैठकमा नेताहरूले प्रधानमन्त्री ओलीको प्रस्ताव सुनाएका थिए । तर नेपाल समूहका नेताले महाधिवेशनको प्रस्ताव खारेज गरेको जनाइएको छ ।
बालुवाटारको कुर्सी हल्लिने भएपछि ओली उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनेदेखि सचिवालयको संख्या बढाउनसम्म सहमत भएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन र कतिपय मुख्यमन्त्री परिवर्तन गर्न समेत ओली पक्ष सहमत भएपनि अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूसँगै राख्ने ओलीको अडान छ । तर प्रचण्ड–नेपाल पक्षले भने ओलीले एउटा पद छाड्नैपर्ने अडान लिएका छन् ।







