नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए निकास निस्कने बताएका छन् ।

“प्रधानमन्त्रीले निकास दिनुपर्छ । हामीले यसैलाई प्रधानमन्त्री बनाउँ भनेर भनेका छैनौं,” खनालले भने, “उहाँले राजीनामा दिएपछि जो प्रधानमन्त्री भए पनि फरक पर्दैन ।”

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए । खनालले ओलीको यो प्रस्ताव गठबन्धन टुटाउने, फुटाउने उद्देश्यबाट प्रेरित भएको बताए ।

“बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको धुवाँधार विरोध भयो, सबैबाट । राजीनामाको माग भयो । हामीलाई टुटाउनफुटाउने उद्देश्य पनि होला, हुनचाहिँ, वामदेवको प्रस्ताव गरे,” खनालले  भने ।

वामदेवको नाम प्रस्ताव हुँदा नेताहरूले आपत्ति नजनाएको खनालको भनाइ छ ।

”जो हुँदा पनि आपत्तिको विषय थिएन । हामीले प्रतिवाद, विवाद केही पनि गरेनौं । हामीले उहाँको राजीनामाको माग गरेका छौं । केपी ओलीको विकल्पमा म हो, पुष्पकलम दाहाल प्रचण्ड हो, वामदेव गौतम हो, माधव नेपाल हो । हामी चार जना हौं । चारमध्ये जुनै विकल्पमा जान हामी तयारै छौं,” खनालले भने ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार