कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले अवलम्बन गरेका नीति र तिनको कार्यान्वयनलाई कसरी हेरिरहनु भएको छ ?

उत्तर—: देश कोरोनाको कहर र केपी सरकारको भ्रष्ट जहरमा परेको छ । नागरिकहरु विभिन्न ठाउँमा भोकै, नाङ्गै अलपत्र छन् तर सरकार सफलताको कोकोहोलो मच्चाउँदै छ । कोरोनाको त्रास त छदैछ, केपी सरकारले विश्वव्यापी अबलम्बन गरिएको लकडाउनलाई प्रयोग गरेर कोरोनाको विपत्तिलाई भ्रष्टाचार गर्ने मौकाका रुपमा प्रयोग गर्नु देशकै लागि लज्जाको विषय बनेको छ ।

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणको नाममा भ्रष्टाचार र कुशासनमा डुबेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्न थालिएको छ ? त्यसबारे यहाँहरुको भनाइ के छ ?

यो एकदमै उचित माग हो । देश कोरोना विपत्तिमा छ तर केपी सरकार भ्रष्टाचारमा लिप्त छ । विपत्तिलाई कमाउ धन्दामा प्रयोग गर्ने अनैतिक, अपराधीक चरित्र यही देखियो । यो सरकारलाई त हटाउनै पर्छ । त्यसका लागि पुनः संयुक्त आन्दोलनको खाँचो टडकारो बनेको छ । त्यस्तो आन्दोलनमा हाम्रो पार्टी जोसुकै सँग सहकार्य गर्न तयार छ । तर हाम्रो प्रष्ट दृष्टिकोण छ कि यो केपी सरकारको समस्या मात्र होइन । मुख्यतः दलाल पूँजीवादी सत्ताकै समस्या हो । सरकारसँगै राज्यको परिवर्तन पनि आवश्यक छ भन्ने सच्चाइलाई सबै अग्रगामी राजनैतिक नेतृत्व र जनताले समयमै बोध गर्नुपर्छ ।

कोरोना संक्रमण नियन्त्रणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नाटकीय रुपमा अघि सारेका राजनीतिक दल विभाजन एवं संवैधानिक परिषद् सम्बन्धी दुई विधेयक र राष्ट्रपतिद्वारा हस्ताक्षर गरेर गरिएको हस्तक्षेप अनि चार दिन पनि बित्न नपाउँदै सरकारद्वारा गरिएको खारेजीको समग्र घटनाक्रमलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

यी सारा घटनाहरु सरकार र राज्य असफल हुनुका परिणाम हुन् । असफल भएपछि संकट मोचनका निम्ति जे गर्न सकिन्छ त्यो गर्नेमा शासक र सरकार पुग्ने गर्दछन् । केपी ओली र उनको सरकारले आफ्नो असफलताको दोष अरुको टाउकोमा थोपर्न र जनतामा थोरै भए पनि भ्रम पार्न सकिन्छ कि भन्नेमा लागेको छ । यस्तै असफलता र संकटबाट गलत तरिकाले उम्किन्छु भन्दा फासिवाद, आराजकता र विद्रोहरु अगाडि आउने हुन् । आजको अवस्था त्यस्तै छ ।

नेकपाभित्र भुसको आगोझैँ सल्कैँदै गरेको अन्तरविरोधले देश र जनतासित कत्तिको सम्बन्ध राख्छ भन्ने तपाईंलाई लाग्छ ?

निश्चय पनि सरकारी नेकपा भित्रको अन्तर्विरोध र संघर्षले जनतासँग सम्बन्ध राख्छ । सबैले बुझ्नुपर्छ केपी सरकारले प्रदर्शन गरिरहेको भ्रष्टाचार, राष्ट्रघात, हत्या हिंसाको मूल्य सरकारी नेकपाले त चुकाउनु परिरहेकै छ, सँगै राष्ट्रले पनि चुकाउनु पर्ने छ ।  किनकि सरकारले जे मन लाग्यो गर्ने र सबै मुकदर्शक मात्र बन्ने हो भने देशले थप राष्ट्रघात र फासीवादका मार खप्नु पर्नेछ । केपी त आफ्नो स्वार्थका लागि जे पनि गर्न र देशै सुम्पिन पनि तयार देखिन्छन् ।

नेकपाका दुई जना सांसद तथा पूर्व आइजीपीद्वारा गरिएको भनिएको तत्कालीन समाजवादी फोरमका नेता, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा हालका सांसदको कथित अपहरणको घटनालाई कसरी हेर्नुभएको छ ?

यो घटनाले सत्तासीन शासकहरु नै सारा अपराधहरुका स्रोत, संचालक र संरक्षक छन् भन्ने तथ्य खोलिदिएको छ । कुर्ची बचाउन केपी सरकार कति तलसम्म गिर्दै गएको छ ? यसले उदाङ्गो पार्दछ । यस्तालाई कारवाही हुनुपर्छ पनि भनिदैछ । तर कस्ले कारवाही गर्ने ? जबकि कार्यवाही गर्ने अंगका जिम्मेवार मान्छेहरु नै यी अपराधिक घटनामा संलग्न छन् । हाम्रो विचारमा जनताले बाहेक कसैले पनि यस्ता अपराधीहरुलाई कार्यवाही गर्ने हैसियत राख्दैनन् ।

रातापाटी अनलाइनसँगको कुराकानीको छोटो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार