
बामदेव गौतमले हिजो एमाले पार्टी पनि फोर्नुभयो तपाईंको अनुभवमा उहाँ कस्तो व्यक्ति हो ?
यो दुई, चार वर्षदेखि उहाँलाई के लागेको हो मलाई थाहा भएन् । तर, प्रधानमन्त्री पदलाई उहाँ जीवनकै सबैभन्दा ठूलो वस्तुको रुपमा बुझ्नुभएको छ । अनि कुनै पनि व्यक्तिले तपाईंलाई प्रधानमन्त्री बनाउने भन्यो भने राति १२ बजे पनि उठेर नाँच्न थाल्नुहुन्छ । मिल्छ मिल्दैन त्यतातिर सोच्नुहुन्न । भलै उहाँ प्रधानमन्त्री हुनुहुथ्यो होला अब निर्वाचन नै हारिसकेपछि कसरी सम्भव छ भनेको । त्यसकारण वामदेवजीको मनोविज्ञानलाई ओलीजीले राम्रोसँग बुझन्भएको छ । त्यही अनुसार उहाँले भनिदिनुभयो । अहिले जसरी पार्टीभित्र ओलीजीको विपक्षमा जनमत बढिरहेको छ । त्यसलाई कमजोर पार्नको लागि बामदेवलाई प्रधानमन्त्रीको कार्ड फालेर नचाउन थाल्नुभएको छ । यसभन्दा पहिला बामदेवजीले जति हन्डर, ठक्कर खानुभएको छ । त्यसको आधारमा त जसले जे भन्यो त्यसमा फुर्किएर हिड्नु नहुने हो । त्यसबाट बुझ्नुपर्ने हो । अस्तिको बैठकमा पनि उहाँले आधाआधा सच्याएको जस्तो हँसिलो अनुहारमा पारिरहनुभएको छ । त्यसबाट ओलीजीको तिर ठाउँमै लाग्छ कि जस्तो पनि लाग्छ ।
प्रधानमन्त्री केपी ओलीले वामदेव देखाएर आफ्नो कुर्सीको आयु लम्ब्याउन खोज्नुभएको हो ?
त्यो त निश्चित रुपमै हो नि । केपीजी अहिले समस्या समाधानतिर होइन खाली कसरी हुन्छ आफ्नो कर्सी जोगाउनतिर मात्रै हुनुहुन्छ । अहिले केपी ओलीजीमाथि व्यक्तिवाद, भ्रष्टाचार, गलत धन्दाका कुरा, संविधानविपरीत गतिविधि, पार्टी निर्देशनभन्दा बाहिर गएर काम गरेकोलगायत थुप्रै आलोचना र आरोपहरु लागेका छन् । विभिन्न बहानामा यी चिजहरुलाई टाइम लम्ब्याएर निश्तेज पार्दै जाने । आफूविद्ध उर्लिएका स्वरहरुलाई मधुरो बनाउँदै जाने दाउमा ओलीजी हुनुहुन्छ । अब माधवजी तेस्रो अध्यक्ष बनाउने भन्ने कुरा आएको छ । त्यो तेस्रो अध्यक्षभन्दा त माधवजीलाई अहिलेकै पोजिसन ठीक छ नि । एकतातिर वामदेवजीलाई प्रधानमन्त्री बनाइदिन्छु भन्नुभयो । अर्कोतिर माधवजीलाई तेस्रो अध्यक्ष बनाउछु भन्नुहुन्छ ।
यो खाली विभिन्न बहानामा अलमल्याएर विरोधी स्वर मलिनो बनाउने र आफू फेरि हिरो हुने ओलीजी दाउपेच हो । ओलीजीको यो दाउपेचलाई माधव नेपाल, प्रचण्ड र वामदेवजीले कसरी बुझ्नुहुन्छ । उहाँहरुले यसलाई दाउपेचको रुपमा बुझ्नुहुन्छ कि साच्चिकै समस्या समाधानको रुपमा गर्न खोजेको बुझ्नुहुन्छ त्यो हेर्न बाँकी छ । ओलीजीले चाहीं पार्टीमा देखिएका विवाद, सरकारमा भएका कमीकमजोरीलाई सच्याउन होइन । विभिन्न दाउपेच गरेर आफू सत्तामा टिकिरहेन खेल खेलिरहनुभएको छ ।
तपाईंले चिनेको केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहोला तपाईं त सँगै जेल बसेको मान्छे ?
हिजो जेलमा बस्दाको केपी शर्मा ओली र प्रधानमन्त्री भइसकेपछिको केपी शर्मा ओलीको चरित्रनै फरक भइसक्यो । जेल बस्दा, आन्दोलन गर्दा इमान्दार नेताहरु हुनुहुन्थ्यो । जब पावर र पदमा पुग्नुभयो अनि हिजोका दुःख र इमान्दारिताका कुरा बिर्सिनुभयो । अहिले उहाँमा कुनै सिद्धान्त छैन । सत्ता र शक्तिको आडमा बसेर दाउपेच खेल्ने अरुलाई ठीक लगाउने, देश र जनताका बारेमा कुनै चिन्ता र चासो उहाँलाई छैन । दुई तिहाई बहुमतको नेता हुँदा पनि उहाँको छवि दिनप्रति दिन बिग्रिँदै गएको छ । आमजनताको काम केही भएको छैन । अनि ठूला–ठूला टपरटुयाँ कुरा गर्ने । जनचाहना अनुसारका कुनै पनि काम गर्न सक्नुभएको छैन ।
पत्रकार ऋषि धमलासँग गरेको कुराकानीको सानो अंश ।







