
सत्ताधारी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले वामदेव गौतम केही समयअघि बाहिर रहेपनि पछि आफ्नो गठबन्धनमा आउने विश्वास लिएको छ ।
नेपाल पक्षधरहरूको सामुहिक निष्कर्ष छ- भैंसेपाटी गठबन्धनको औचित्य अझै सकिइसकेको छैन । उपादेयता बाँकी नै छ । पार्टी विधानको ट्र्याकमा नहिँडेकाले मुद्दाहरू किनारा लागिसकेका छैनन् । प्रधानमन्त्री ओली आत्मआलोचित हुँदै बैठकमा प्रस्तुत भएकाले गठबन्धनको औचित्य पुष्टि पनि गरेको छ ।
“पार्टीलाई विधि, पद्धतिबाट चलाउनुपर्छ भन्ने सामुहिक मुद्दा हो । त्यो मुद्दामा पार्टी एकताको प्रारम्भिक दिनदेखि नै एउटा पंक्ति निरन्तररूपमा अडिँदै आएको छ । जोडिने र भत्किने क्रम त चली नै रहन्छ । माधव नेपालले त्यसको नेतृत्व गरिराख्नुभएको छ । त्यो मूल पंक्ति आजको दिनसम्म पनि निर्भीक छ । विधि अनुसार नभएका थुप्रै निर्णय सच्याउन जरुरी छ,” नेपाल पक्षका प्रभावशाली नेता भन्छन्, “एक व्यक्ति एक मुख्य जिम्मेवारी पार्टीका तलदेखि माथिसम्म लागु भएका छैनन् । विधान उलङ्घन भएको त सच्चिनुपर्यो नि ! विचार समूहको आवश्यकता, निरन्तरता यसैले निर्धारण गर्छ ।”
पार्टीमा नमिलेका कुरा मिलाउनुपर्छ भन्ने आवाजमा सबैको साथ, सहयोग रहने र गठबन्धनले निरन्तरता पाउनेमा नेपाल समूह विश्वस्त छ ।
नेपाल समूहले अर्को पनि निष्कर्ष निकालेको छ- वामदेव गौतम यो कार्यकालमा सांसद हुनसक्दैनन् । राष्ट्रियसभामा लैजाने अघिल्लो निर्णय खारेज गरेर प्रतिनिधिसभामा ल्याउने निर्णयले पनि वामदेवको यही कार्यकालमा सांसद बन्ने ढोका बन्द गरिदिएको नेपाल समूह बताउँछ ।







