
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले भैंसेपाटी गठबन्धन भत्काएर पद जोगाउन सफल भएको चर्चा चलेपनि नेकपाभित्र खैलाबैला ल्याउने गरी अर्काे दीर्घकालीन गठबन्धन बनेको छ ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी र दादागिरी प्रदर्शन गरेको निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दीर्घकालीन गठबन्धन गर्ने घोषणा गरेका छन् ।
नेता नेपाल निवास कोटेश्वरमा सोमबार साँझ भएको भेलाले प्रचण्ड र नेपाल समूहले दीर्घकालीन सहकार्य गर्नुपर्ने घोषणा गरेको हो । भेलामा सहभागी एक दर्जन बढी स्थायी कमिटी सदस्यले नेकपामा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्दै दाहाल–नेपाललाई मिलेर जान सुझाव दिएका थिए ।
सोमवार दिउँसो स्थायी कमिटीका एजेन्डामाथि छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्रीबीच सकरात्मक कुराकानी नभएपछि दाहाल सिधै कोटेश्वर पुगेका थिए ।
त्यसपछि नेपालले दुबै समूहका स्थायी कमिटी सदस्य बोलाएर आगामी रणनीतिवारे परामर्श लिएका थिए । छलफलमा स्थायी कमिटी सदस्यहरूले एकता पनि हुनुपर्यो र विकल्प पनि दिनुपर्यो भनेर नेता नेपालको ध्यानाकर्षण गराएका थिए । छलफलमा नेताहरूले सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको भूमिकालाई लिएर समेत प्रश्न उठाएका थिए ।
सोमवारको छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘ढुक्क हुने अवस्था छैन । आफ्नो तयारीमा लाग्नुपर्ने देखिएपछि संवाद थालेका हौं ।’ ती नेताका अनुसार स्थायी कमिटी बैठकसम्म यस्तो छलफल चलिरहन्छ । बैशाख २५ गते नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।







