
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मुद्दा पुनः चर्किने देखेपछि शितल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले चलखेल सुरू गरेको खुलासा भएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार राष्ट्रपति भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेकी छन् ।
ष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गरिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेता पुनले प्रधानमन्त्री ओली नेतृत्वमा सरकारले ल्याएको अध्यादेशको मन्त्रिपरिषद् बैठकमै विरोध गरेका थिए । पुनले बैठक सकिएलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डलाई अध्यादेशबारे खुमलटार पुगेर जानकारी दिएका थिए ।
नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको बहुमत पुगेपछि ओलीको राजीनामाको मुद्दा सेलाएपनि स्थायी कमिटीको बैठकमा फेरि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन लगाउनेबारे नेताहरूबीच छलफल भइरहेको बेला नेकपाकै २ जना प्रभावशाली नेताहरूलाई राष्ट्रपति भण्डारीले भेटेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ ।
नेकपा सचिवालय सदस्यहरू विष्णु पौडेल र वामदेव गौतम वामदेवले भैंसेपाटी गठबन्धन तोड्दै प्रधानमन्त्री ओलीलाई साथ दिएपछि सचिवालयमा अल्पमतमा परेका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिरहेका छन् ।
नेकपा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय खनाल र नेपालले प्रवक्ता नारायणकाजी श्रेष्ठको निवासमा मंगलबार गोप्य छलफल गरेका थिए ।
नेकपाका वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड निकट नेताहरूबीच स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्नेबारे छलफल भएसँगै राष्ट्रपति भण्डारी राजनीतिक परामर्शमा सक्रिय भएकी छन् ।
नेता पुनपछि राष्ट्रपति भण्डारीले मंगलबार नै प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री ओलीले मंगलबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग समेत छलफल गरेका छन् ।







