लकडाउनका बाबजुद सहरी क्षेत्रका उपभोक्ताको माग पूर्ति गर्नका लागि भारतबाट कृषि उपज भित्रिरहेको छ ।

एकातिर स्वदेशी कृषकले लकडाउनकै कारण बजारको अभावमा लगानी उठाउन नपाउने, अर्कोतिर उपभोक्तालाई भारतीय कृषि उपज महँगोमा खरिद गर्नुपर्ने बाध्यता परस्पर विरोधाभासपूर्ण अवस्था हुन् ।

संयोगले मार्क्सवादका सच्चा अनुयायी, विचारक, अध्येता र सैद्धान्तिक ज्ञानका धनी मानिने नेता घनश्याम भुसालले अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यद्यपि किसान आफ्नो लगानी र ऋणसमेत उठाउन नसक्नेगरी पीडित हुँदासमेत मन्त्री भुसालले आफ्नो अध्ययन, ज्ञान, सैद्धान्तिक विद्वताअनुसार किन प्रतिफल दिन नसकेका होलान् भन्नेबारे चासो जाग्नु स्वाभाविक नै हो ।

उत्पादन र वितरणको पुरानो मेकानिज्मले काम नगर्दा अहिलेको अवस्थामा समस्या सिर्जना भएको मन्त्री भुसाल बताउँछन् । ‘हाम्रो उत्पादन र वितरणको जुन बजार व्यवस्था छ, त्यो असाध्यै पराश्रयी छ । त्यसै अनुसारको संरचना र व्यवस्था बन्दै आयो,’ उनले भने, ‘अहिले त्यो संरचना र व्यवस्थाले काम गरेन । नयाँ व्यवस्था बनेको छैन ।’

बजारसम्म पुग्न नसकी किसानको खेतबारीमा तरकारी र फलफूल कुहिन थालेका छन् । देशका कैयौँ जिल्लामा व्यावसायिक किसानहरु कृषि उपजले बजार नपाएका कारण धराशयी हुनुपरेको गुनासो गर्दैछन् । मन्त्री भुसाल भने आफूहरु उत्पादन र वितरण व्यवस्थालाई क्रमशः सुधार्ने र परिवर्तन गर्ने तयारीमा रहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार