
स्थायी कमिटीको बैठक अन्तिम समय स्थगित गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट २० स्थायी कमिटी सदस्यले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बैठक तत्काल बोलाउन माग गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा प्रतीकात्मक बैठक आयोजना गरेलगत्तै उनीहरू प्रचण्ड भेट्न खुमलटार पुगेका थिए ।भेटमा अध्यक्षले दुईचार दिनभित्रै बैठक डाकेर विषयमाथि छलफल गर्ने आश्वासन दिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
अहिले विविध कारणले बैठक राख्न नसकिएको बताउँदै बैठकबाट पन्छन नसकिने बताएको पौडेलको भनाइ छ ।
भेटमा असन्तुष्ट समूहले कोरोनाको प्रभाव न्यूनीकरण गर्न आर्थिक परिचालन लगायतका विषयमा ध्यानकर्षण गराएका थिए । त्यस्तै कोभिड–१९ बाट असर पुगेका विपन्न, न्यून आय भएकालाई राहतलगायतका विशेष प्याकेजको घोषणा गर्न, कृषि क्षेत्रमा थप बजेट छुट्टयाउन पनि माग गरेका थिए ।
भुसालले विधानले तय गरेको समय सकिएकाले बैठकको माग गर्ने भेला भएर नेतृत्वलाई ध्यानकर्षण गराएको बताए । भुसालले आवश्यकता अनुसार अनौपचारिक बैठक बसेर थप ताकेता गरिने पनि बताए ।
बुधबारको सचिवालयले बिहीबारका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित गरेको थियो ।







