
दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी खटाउने तयारी भएको छ । व्यास गाउँपालिका १, छाङरुमा यसअघि नै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने निर्णय भएको थियो ।
सोही निर्णयअनुसार तत्कालका लागि अस्थायी र संरचना बनेपछि स्थायी रूपमा बस्ने गरी सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइन लागेको हो । सोही क्षेत्रमा बीओपी स्थापनाका लागि जमिनसमेत सशस्त्र प्रहरीले प्राप्त गरिसकेको छ ।
कालापानी र लिपुलेक व्यास गाविसमै पर्छ । स्थानीयका अनुसार सशस्त्र प्रहरीको बीओपी स्थापना हुने भनिएको स्थानबाट कालापानी झन्डै ८/१० किलोमिटर र लिपुलेक १५ देखि २० किलोमिटर पर्छ ।
हाल भारतसँग सीमा जोडिएका ११९ स्थानमा बीओपी रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविन श्रेष्ठले जानकारी दिए । यसअघि स्थायी संरचना बनेपछि मात्रै सशस्त्रको टोली जाने बताइएको थियो । तर भारतले नेपालको भूमि हुंदै चीनसम्म पुग्ने सड्क निर्माण गरेपछि तत्काल सशस्त्र प्रहरी परिचालनको तयारी भएको हो ।
डीआईजी श्रेष्ठले भने, “बीओपी राख्ने निर्णय पहिले नै भइसकेको हो । अहिले नै संरचना बनिसकेको अवस्था होइन । केही दिनमै टोली त्यहाँ जान्छ । भाडाका घरमा र टेन्टमा बस्न सुरु गर्छौं ।”
बीओपीको मुख्य काम सीमा अपराध नियन्त्रण, राजस्व चुहावट रोक्ने र सीमा सुरक्षा मुख्य दायित्व भएको डीआईजी श्रेष्ठ बताउँछन् । यसअघि दार्चुला सदरमुकाममा सशस्त्र प्रहरीको गुल्म मात्रै थियो ।
तत्काल प्रहरी निरीक्षकको कमान्डमा टोली पठाउने तयारी छ । डीआईजी श्रेष्ठका अनुसार काठमाडौंबाट हेलिकप्टर वा सुदूरपश्चिमबाटै पनि टोली पठाउनेबारे आवश्यक छलफल भइरहेको छ ।







