भारतले अहिले सडक बनाएको क्षेत्रमा ब्यास गाउँपालिकाको कुन–कुन वडा पर्छन् ?
भारतले लकडाउनका बेला लिपुलेक हुँदै मानसरोवर जाने जुन सडक भिडियो कन्फ्रेसिङबाट उद्घाटन गरेको छ, यो व्याँस गाउँपालिका– १ मा पर्छ ।
त्यो क्षेत्रमा भारतले कहिलेदेखि सडक खन्न थाल्यो ?
यो भूभाग भारतले अतिक्रमण गरेको त सन् १९६२ मै हो । तर, सडक बनाउन थालेको चाहिँ ६/७ वर्ष अगाडि हो । भारतले व्याँस गाउँपालिकामा पर्ने झण्डै ३ सय ३४ वर्ग किलोमिटर क्षेत्रमा सडक बनाएको छ ।
भारतले त्यसरी सडक खन्दा तपाईं त्यही क्षेत्रमा राजनीति गर्नुहुन्थ्यो, अढाइ वर्षअघि तपाईं गाउँपालिकाको प्रमुख नै हुनुभयो । प्रदेश र केन्द्र सरकारलाई जानकारी गराउनु भएन ?
आफ्नो देशको भूमि अतिक्रमण हुँदा सच्चा नागरिक कहिल्यै पनि चुप लागेर बस्दैन । म पनि एक सच्चा देशभक्त नेपाली हुँ । भारतले महाकाली तारेर भारतले निर्माण सामग्री र उपकरण नेपाली भूमिमा ल्याएपछि नै मैले यस क्षेत्रका माननीय सांसद दिलेन्द्रप्रसाद बडु र स्थानीय प्रशासनलाई जानकारी गराएकाे थिए । यो विषयलाई सदनमा उठाउन मैले आग्रह गरेँ । मेरो आग्रहअनुसार मान्य दिलेन्द्र बडुले ६/७ महिना अघि नै संसदमा यो कुरा उठाउनुभएको थियो । तर, सरकारले यसलाई गम्भीरतापूर्वक लिएन ।
भनेपछि सरकारलाई जानकारी गराउँदा पनि वास्ता गरेन ?
हो, हामीले केन्द्र सरकारलाई पटक–पटक यस विषयमा जानकारी गराएका छौँ । हाम्रो भूमिमा भारतले डोजर चलाउँदा हामीले कति पीडा भयो होला ? यो पीडा केन्द्र सरकारले बोध गर्न सकेन । बेवास्ता गरेर बस्यो । अहिलेको जस्तो चासो उतिबेलै देखाएको भए, एक हदसम्म यो विवाद समाधानको दिशामा गइसकेको हुन्थ्यो
भारतले सडक बनाएको क्षेत्रका बासिन्दा के भन्छन्, उनीहरूलाई कस्तो असर परेको छ ? यिनै विषयमा कालापानी र लिपुलेक भूभाग पर्ने व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप बुढाथोकीसँग शिलापत्र अनलाइनले गरेको वार्ताको सानो अंश ।








