
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार सशस्त्रको बिओपी (BOP) दार्चुलामा स्थापना भएको छ।
दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको हो । गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।
भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्न लागेको हो।
व्यासको छाङ्गरुमा बिओपी स्थापनाका लागि टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापासमेत छन्।
बुधबार हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी बल ओर्लिएको हो। अहिलेलाई छाङ्गरूमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ९ जना खटिने भएका छन्।
कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली आफ्ना बन्दोबस्तीका साथ छाङ्गरुतर्फ लागेका छन्।
उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन्।







