प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले लडेर पाएको भूमि हामीले अडेर जोगाउनुपर्ने बताएका छन्।

भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमि मिचेर सडक बनाएकोबारे चौतर्फी विरोध चर्किएपछि साझा धारणा बनाउन आज डाकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उक्त मत राखेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘पूर्खाहरुले लडेर बनाएको र लडेर बचाएको नेपाललाई हामीले अडेर बचाउनुपर्छ।’

प्रधानमन्त्री ओलीले अहिले नेपालले भारतसँग असल मित्रता नै चाहेकोले अविलम्ब कुटनीतिक वार्ताको पक्षमा रहेको स्पष्ट पारे। ‘हामीले अहिले लड्नु जरुरी छैन। भारतसँग असल मित्रता चाहन्छौं। कुटनीतिक वार्ता गर्ने पक्षमा छौं।’

सरकारले सीमा र सडकबारे पटकपटक वार्ता गर्न खोजे पनि भारतले भने कोरोनाको कारण देखाउँदै वार्ता टरेको प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। ज्ञवालीले भने, ‘भारतले जारी गरेको नक्साबाट विवाद शुरु भएको हो। वार्ताका लागि नेपाल सरकारले पटकपटक प्रयास गरेको हो। तर वार्ताका लागि भारतले कोरना कारण बनायो। बाटो उद्घाटन गर्न भने कोरोनाले छेकेन।’

बैठकमा उपस्थित सबै दलका नेताहरु र पूर्वप्रधानमन्त्रीहरुले सीमाको बारेमा एकै स्वर बनाएको ज्ञवालीले बताए। भने, ‘बैठकमा उपस्थित सबै नेताहरुले एकै स्वरमा नेपालको भूभाग हो भन्नेमा एकमत हुनुभएको छ। सरकारको कदममा समर्थन जनाउनुभएको छ। सरकारलाई साथ दिने बताउनुभएको छ।’

बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधव नेपाल, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत प्रमुख दलका नेताहरु, वरिष्ठ मन्त्रीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार