
दासढुङ्गा दुर्घटना नभएर योजनाबद्ध हत्या
दासढुङ्गा दुर्घटना नभएर योजनावद्ध गतिविधि नै हो । योजनाबद्ध नै हो भन्ने त अहिलेको विकसित घटनाक्रमले पनि पुष्टी गर्छ । यदि त्यो योजनाबद्ध थिएन भने दुर्घटनापछि जेल बसेर निस्किसकेका अमर लामालाई पछि किन मारियो । उनी मारिनु पर्ने अरु कुनै कारण त थिएन । प्रमाण भने त्यही एकजना अमर लामा थिए, उनलाई पनि मारिसकेपछि त सबै कुरा सकियो नि । त्यसकारण यी तमाम सत्यहरुले मदन भण्डारीको दुर्घटना वास्तवमा दुर्घटना नभएर योजनाबद्ध हत्या थियो भन्ने मेरो बुझाइ हो । नत्र घटनाको १० वर्षपछि जेलबाट निस्किएका चालकलाई किन मारियो त ?
एमालेकै आन्तरिक छानबिनबारे
त्यतिबेला मदनजीको दुर्घटनामा मृत्यु भएपछि माधवजी पावरमा आउनुभयो । माधवजी कै हाली मुहालीमा उनले केपी ओलीलाई एक सदस्यीय छानबिन समितिको जिम्मा दिनुभयो । एक सदस्यीय किन बनाइयो त्यो पनि स्पष्ट खुलाइएन । मलाई लाग्छ माधवजीकै एकल निर्णयले एक सदस्यीय समिति बनाइयो ।
ओलीजीले कसरत नै नगरेको त मलाई पनि लाग्दैन । उहाँले कसरत त गर्नुभएकै हो । उहाँ ८–१० दिन व्यस्त भएर विभिन्न व्यक्तिहरुसँग कुराकानी गर्दै हिँड्नुभयो । तर त्यो घटनाको टेक्निकल र पोलिटिकल कुराको कन्सेप्ट बनाउने कुरामा पुगिसकेपछि उहाँले रिपोर्ट नै बुझाउनु भएन । पद्मरत्न तुलाधरको नागरिक समाजको प्रतिवेदन, तत्कालीन सरकारी समतिकिो प्रतिवेदन, तत्कालीन न्यायाधीशको प्रतिवेदन सबै आएपछि ओलीजीले रिपोर्ट नै बुझाउनु भएन ।
मलाई के लाग्छ भने उहाँले छानबिन गरिसकेपछि जे बुझ्नुभयो उहाँले रिपोर्ट बुझाउनु भन्दा नबुझाउनुमै फाइदा देख्नुभयो । किनभने उहाँ सुरुदेखि नै राष्ट्रवादी मान्छे त होइन, यो धेरै खोतल्यो भने यो खतरा म माथि नै आइपर्छ भन्ने बुझ्नुभयो होला, त्यसकारण उहाँले त्यो रिपोर्ट नै दिनुभएन । आज दिन्छु भन्नुभयो, भोलि दिन्छु भन्नुभयो तर कहिल्यै दिनुभएन । पछि आन्दोलन भयो के के भयो र त्यो आयोग नै खारेज जस्तै भयो ।
मलाई के लाग्छ भने उहाँले के देख्नुभयो भने अब मदन त हुनुहुन्न, पार्टीमा कसरी अगाडि आउने र फाइदा लिने भन्दै उहाँ माहाकाली सन्धीको पक्षमा लबिङ गर्न थाल्नुभयो । त्यसपछि नेता हुने बाटोको पूर्वाधार तयार गर्नतिर थाल्नुभयो । भारतलाई रिझाइएन भने सत्तामा पुग्न सकिँदैन भन्ने बुझेर सबैतिर घाटा हुँदा पनि जस्ताको तस्तै माहाकाली सन्धी गर्न तयार हुनुभयो । भारतलाई रिझाउँदा मात्रै नेता बन्न सकिन्छ भन्ने बुझेपछि उहाँ त्यतै लाग्नुभयो । नेता बन्नका लागि गुट चाहिने र आर्थिक स्रोत चाहिन्छ र आर्थिक स्रोत यस्तै क्षेत्रहरुबाट आउने भएपछि उहाँ त्यतैतिर लाग्नुभयो । अनि दासढुङ्गाको प्रतिफल नेता हुने बाटोतिर अग्रसर हुनुभयो भन्ने नै मेरो विश्लेषण हो ।
तत्कालीन एमाले नेता राधाकृष्ण मैनालीसँग रातोपाटीले गरेको कुराकानीको सानो अंश ।







