विप्लव नेकपा निकट कतारमा बस्ने नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा कतारले नेपाल र भारतका बीचमा दोहोरो काँडे तार लगाउन पचास लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीच सीमामा दोहोरो काँडेतार लगाउनका लागि लाग्ने आर्थिक सहयोग जुटाउन सङ्गठनका तर्फबाट नेपाली रुपैयाँ पचास लाख सहयोग गर्ने घोषणा गरेको हो । मोर्चाका अध्यक्ष जयकिशोर पोद्दारले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको छ ।

पोद्दारले केन्द्रीय समितिका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको वर्तमान राष्ट्रिय परिस्थितिअनुसार पूर्व, पश्चिम र दक्षिण सीमाना जोडिएको भारतले पटकपटक सीमा मिच्दै देशको अस्मितामाथि नै धावा बोल्दै आइरहेको छ । पश्चिममा कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग अतिक्रमण गरेर विगत ५७ वर्षदेखि भारतीय सेना तैनाथ गरी नेपालीहरूलाई प्रवेशमा समेत रोक लगाएको छ । दक्षिण–पूर्वमा सुस्तासम्मको भूभागमा प्राकृतिक दोहनको फाइदा उठाई नेपालको ठूलो भूभाग मिचेर बसेको छ । महाकाली नदीको शारदा बाँधको बीचमा नेपाल–भारत सीमा रहेकोमा हाल २ किलोमिटर नेपालभित्र गड्डाचौकीमा नेपालको जाँच हुन्छ । तर भारतीय क्याम्प शारदा पुलवारि आएर बसेको छ ।’

अगाडि भनिएको छ, ‘नेपालको इतिहासमा ३८ जना प्रजातान्त्रिक प्रधानमन्त्रीहरू बनिसकेका छन् । २४० वर्ष राजतन्त्रले राज गरेको छ । यहीबीचमा १०४ वर्ष राणाशासन चलेको थियो । यी सबै शासकहरू कानमा तेल हालेर सुतेको सुत्यै भए । कुनै सत्ताधारीले भारतमा पैसा जम्मा गरेर आफ्नो अस्तित्व उतै विलीन गराए भने कुनै शासकले युरोपतिरको बैङ्कमा पैसा जम्मा गरेर आफ्नो वंश नै विनाश गराए । देशभन्दा आफ्नो सत्ता नै प्रमुख मानेर राष्ट्रिय मुद्दालाई ओझेलमा राखेको देखियो । आफ्नो जिम्मेवारीभित्र कुनकुन चीज पर्छ र केके गर्नुपर्छ भन्ने जानकारीसमेत भारतले नै भनिदिनुपर्ने नै वैचारिक वा राष्ट्रिय नीतिको जानकारीसमेत नभएका व्यक्तिलाई सत्तामा पुर्याएर राज्य दोहन गर्नु नै दलाल संसदीय व्यवस्थाको दिनचर्या बनेको छ ।’

पाँचबुँदे माग अघि सार्दै मोर्चाले भनेको छ, ‘१. सीमाविवादलाई सम्पूर्ण प्रमाणसहित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरियोस् । २. नेपाली सेनालाई सीमा रक्षाको जिम्मेवारीमा खटाइयोस् । देशको आवश्यकताअनुसार युवा पिँढीलाई सैनिक तालिमसहित सीमा सुरक्षाका लागि तयार गरियोस् । ३. बिदेसिएका युवकयुवतीहरूलाई स्वदेशमै रोजगारीको दीर्घकालीन व्यवस्था गरी राष्ट्र निर्माणमा समावेश गराइयोस् । ४. सीमा समस्या समाधान गरी सिमानामा डबल काँडेतार लगाउने व्यवस्था गरी तत्काल काम सुरु गरियोस् । ५. विदेशबाट स्वदेश फर्कन चाहेका नेपालीहरूलाई उचित व्यवस्थापनसहित तत्काल स्वदेश फर्किने वातावरण बनाइयोस् ।’

मोर्चाले विज्ञप्तिको अन्त्यमा भनेको छ, ‘जहाँ जो जुनसुकै पार्टीको वा विचारमा रहे पनि राष्ट्रियता हाम्रो साझा नारा हुनुपर्दछ । यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्तहरू एक हुनुको विकल्प नै नरहेको कुरा उजागर गर्दै माथि उल्लेख गरिएका मागहरूलाई पूरा गर्दै देशको सीमा समस्या समाधान गरेर सधैँका लागि यस्ता प्रहारबाट मुक्त हुन सीमामा दोहोरो काँडेतार लागाइयोस् । त्यसका लागि लाग्ने आर्थिक सहयोग जुटाउन नेपाली जनप्रगतिशील मोर्चा कतारका तर्फबाट नेपाली रुपैयाँ पचास लाख सहयोग गर्ने यसै विज्ञप्तिमार्फत घोषणा गर्दछ ।’

विज्ञप्तिको पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार