
नेकपाभित्रको अहिलको विवाद पार्टी बनाउने हुटुहुटी हो कि पदमा पुग्ने छटपटी ?
सरकारमा जानुपर्छ, पदमा पुग्नुपर्छ भन्ने छटपटी हो । पार्टी बनाउन त उहाँहरू जान्दै जान्नुहुन्न । तपाईंले फोन गरिहाल्नुभयो, प्रदीप नेपालले भनेको भनेर लेखिदिनुनस्– दुवै अध्यक्षलाई पार्टी बनाउने कुरा थाहै छैन ।
जेलनेल खाएको र जनयुद्धको आँधीबेहरी सिर्जना गरेको नेतृत्वसँग पार्टी बनाउने ज्ञानसीपै नहोला त ?
यसमा प्रष्ट हुँदा हुन्छ, उहाँहरू दुवैसँग पार्टी बनाउने ढङ्ग छैन । पुगेको भए त देखिहालिन्थ्यो नि !
जनताले यत्रो विश्वास गरेर देश बनाउने जिम्मा दिएका छन् । कम्युनिस्ट आन्दोलनले पनि उहाँहरूसँग भरोसा गरेको छ । ढङ्ग नपुगे त नेता–कार्यकर्ता, जनताको सपनामाथि कुठाराघात भयो नि !
जनताको विश्वास पूरा गर्ने, कार्यकर्ताको भावनाको सम्मान गर्नेतिर उहाँहरू जाँदै जानुभएन । संघीयता भन्नुभयो । नारा त लगाउनुभयो– घरघरमा सिंहदरबार पुर्याउँछौँ । काम के गर्नुभयो त ? केही गर्नुभएन नि । भाषणचाहिँ गर्न जान्नुभएको छ । त्यो अनुसार काम गर्न ढङ्ग पुगेन ।
संविधान कार्यान्वयनको सुरुआती चरणमा छौं । संरचनाहरू नयाँ छन् । कतिपय त बन्दै पनि छन् । परिणाम देखिन बाँकी हो कि ?
मैले अघि नै भने नि, संविधान कार्यान्वयनमा, नियम कानुन तर्जुमा संघीय संदको ध्यान केन्द्रित हुनुपर्छ । सबै नेताहरू संघीय संसदमा छन् । म त उहाँहरूको ध्यान नितान्त निजी कुरामा देख्छु । सांसदहरू सबैको ध्यान उही व्यक्तिगत सुख–सुविधा, बजेटतिर पो देख्छु ।
त्यसो भए अहिलेको राजनीतिक नेतृत्वबाट मुलुक परिवर्तन सम्भव छैन त ?
अहिले नेकपाभित्रको पहिलो लेयरका नेता जति पनि छन् नि, उहाँहरू चुपो लागेर निस्कनुपर्छ । जसले सत्ताको स्वाद चाखे, यि सबै पार्टीबाट बाहिर निस्कनुपर्छ । दोस्रो, तेस्रो, सत्ताको स्वाद नचाखेका कुनकुन लेयर बाँकी रहन्छ, स्वतन्त्र ढङ्गले काम गर्न सक्ने, आग्रह–पूर्वाग्रह नराख्ने, उहाँहरूलाई अगाडि बढाउनुपर्छ ।
तपाईं पनि केन्द्रीय कमिटीमा हुनुहुन्छ, सल्लाह–सुझाव त दिनुभएको होला ?
मलाई पार्टीको केही पनि थाहा छैन । मैले अहिलेको नेकपालाई फर्किएर पनि हेरेको छैन ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि जानुभएको छैन ? शपथ पनि खानु भएको छैन ?
कहिले बस्छ र त्यो ?
माघ महिनामा बसेको थियो केन्द्रीय कमिटीको बैठक, तपाईंलाई खबर भएन कि ?
केन्द्रीय कमिटीको बैठक बसेको थियो कि, आमसभा हो त्यो ? त्यत्रो ठूलो केन्द्रीय कमिटीमा सबैले कुरा राख्न पाउँछन् र जानू !
त्यो त कार्यकर्ता भेला हो । ४४५ जना स्रोतामा दस–बाह्रजनाले बोल्ने ! त्यसपछि बैठक सकियो । जब आफ्नो कुरा राख्नै पाइँदैन, नेताका कुरा सुने फर्किनुपर्छ भने त्यहाँ जानु समयको बर्बादी मात्रै हो ।
तपाईं पार्टी–आन्दोलनबाट ओझेल परिसक्नुभएको छैन, भूमिकाको खोजी गरिराख्नु भएको छ भने सच्याउने उपाय पनि त होला नि !
महाधिवेशन हो । छिटो महाधिवेशन गर । आराम गर्नेलाई आराम गर्न पठाऊ । सक्रिय हुन चाहनेलाई जिम्मेवारी देऊ ।
प्रदीप नेपालको विचारमा अबको महाधिवेशनले कसकसलाई जिम्मेवारीबाट घर पठाइदिए हुन्छ ?
हाम्रो पुस्ता सबै निस्कनुपर्छ । जो पञ्चायतकालका विरूद्ध धेरै लड्यो । बहुदल ल्याउन साह्रै भिड्यो । त्यो पुस्ता अब निस्कनुपर्छ । धेरै थाकियो क्या !
सत्ताधारी नेकपाका नेता प्रदीप नेपालसँग बाह्रखरी अनलाइनले गरेको कुराकानीको छोटो अंश ।







