
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाल विरुद्धको मुद्दा अगाडि नबढ्ने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
काठमाडौंका सहन्यायाधीवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार प्रहरी अनुसन्धानबाट फेला नपरेको बताएका छन् ।
‘अहिलेलाई पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखेका छौं,’ उनले भने । काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी कृष्ण चन्दले आवश्यक प्रमाण फेला नपरेकाले आवश्यक निर्देशनका लागि भन्दै राय सहितको प्रतिवेदन वकिल कार्यालयमा पेश गरेको थियो ।
यसअघि बैशाख १४ गते काठमाडौं प्रहरी परिसरमा टेकुमा गएका जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको जाहेरी प्रहरीले लिन मानेको थिएन ।
तर सरकारी वकिलको कार्यालय काठमाडौंले उनको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएपछि प्रारम्भिक अनुसन्धान अगाडि बढेको थियो ।







