
बैतडी-बैतडीकाे पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा कार्यकक्षमै कुटिएका छन् ।
एक नगरप्रमुखसहित दुई जनप्रतिनिधि कुटिएका हुन् । सोमबार अपराह्न कार्यकक्षमै नगरप्रमुख कुँवरमाथि कुटपिट भएको नगरप्रवक्ता दलबहादुर धामीले बताए ।
स्थानीय युवाको एक समूहले नगरप्रमुख कुवँरमाथि कुटपिट गर्नुका साथै कार्यकक्ष र कार्यालयमा समेत तोडफोड गरेका उनले बताए ।
कार्यालयको कम्प्युटर, ल्यापटप र कुर्सीटेबुलसमेत उनीहरुले तोडफोड गरेका नगरप्रवक्ता धामीले बताए ।इलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकमाथि आइतबार नगरप्रमुख कुँवरले कुटपिट गरेका भन्दै आक्रोशित स्थानीय युवाले मेयरमाथि हातपात र कार्यालय तोडफोड गरेका बुझिएको छ ।
पुर्चौडीका स्थानीयसमेत रहेका धानुकसँग भएको विवादका क्रममा नगरप्रमुख कुँवरले कुटपिट गरेका र उल्टै धानुकलाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्दा लगाएका थिए ।
धानुकका दुई छोरा र एक स्थानीयले आक्रोशित हुँदै मेयरमाथि आक्रमण गरेका हुन सक्ने स्थानीयले बताएका छन् । मदिरा सेवन गरेको बेला आइतबार हुलाकका कर्मचारी धानुकलाई नगरप्रमुख कुँवरले हातपात गरेका ती युवाले बताएका छन् ।
हातपात र कार्यालयमा क्षति गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयका अनुसार स्थानीय रमेश धानुक, पुस्कर धानुक र चन्द्र भण्डारीलाई पक्राउ गरिएको छ ।
कर्मचारी धानुकमाथि सोमबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरी अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिसकिएको छ ।
वडा अध्यक्ष पनि कुटिए यस्तै दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा पनि कुटिएका छन् । सोमबार स्थानीय सिल्लेगडा बजारमा युवाको एक समूहले वडाध्यक्ष महरामाथि हातपात गरेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।
लकडाउन उल्लंघन गर्दै गाडी चलाएको भन्दै युवाहरुलाई वडाध्यक्ष महराले रोक्न खोज्दा विवाद उत्पन्न भएको थियो । विवादले उग्र रुप लिएपछि कुटाकुटको स्थिति आएको प्रहरीले जनाएको छ। कुटपिटबाट वडाअध्यक्ष घाइते भएका छन् ।
उपचारका लागि उनी धनगढी गएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाध्यक्ष महराको नाकमुख, टाउको र पेटमा चोट लागेको छ। कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले कृष्ण जोशी, हरि जोशी, नरिनराज जोशी र राजीव धामीलाई पक्राउ गरेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ । पुर्चौडीमा थप सुरक्षाकर्मी परिचालन पुर्चौडीमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दुई दिन लगातार आक्रमणका घटना भएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।
पुर्चौडीमा डोटीको दिपायलमा रहेका प्रहरीको प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म नम्बर ५१ बैतडीबाट सशस्त्र प्रहरी गरी बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।







