
सत्तारुढ दल नेकपामा शक्ति संघर्ष चरमोत्कर्षमा छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै परिवर्तन गर्नुपर्ने पक्षमा नेताहरु छन् ।
पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले ओलीविरुद्ध पटक पटक गठजोड नै बनाउँदै आएका छन् ।
नेताहरुले ओलीले २०७४ सालको निर्वाचनमा जाँदा पार्टीले बनाएको घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धता कार्यान्वयन गर्न नसकेको, पार्टी र सरकारमा सन्तुलन मिलाउन नसकेको, राजनीतिक नियुक्तिमा दक्ष, सक्षमलाई भन्दापनि आफ्ना निकटस्थलाई भर्ती गरेको, विश्वव्यापी महामारीका रुपमा फैलिएको र नेपालपनि अछुतो नरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको आरोप पार्टीभित्र उनीविरुद्ध गठजोड बनाएका नेताहरुले लगाइरहेका छन् ।
जती नै सचेत गराउँदा पनि ओलीको बानी नसुध्रिएपछि नेताहरुले जसरी भएपनि हटाएर आफूहरु सत्ता र पार्टीको शक्तिमा पुग्नेगरी अनौपचारिक छलफल सुरु गरेका छन् ।
निकटस्थ नेताहरुका अनुसार अहिले ओलीलाई हटाएर नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने र अर्का अध्यक्ष प्रचण्ड एकल पार्टी अध्यक्ष बन्नेगरी छलफल सुरु भएको छ । तर, निष्कर्ष भने निस्किसकेको छैन् ।
नेकपाभित्रको शक्ति सन्तुलनमा ओली, प्रचण्ड र नेपाल करिब करिब बराबरीजस्तै अवस्थामा देखिन्छन् । तर, दुई नेता एकापट्टि भएमा पासा पल्टाउन सहज हुने विश्लेषण पनि एकाथरीको छ । त्यसैले अब सत्ता र पार्टीको शक्तिमा नयाँ व्यक्ति पुग्ने हो या अहिले नै आसिन व्यक्ति रहने हुन, त्यो यसै भन्न सक्ने अवस्था छैन् ।
तर, ओलीले बुद्धिमतापूर्वक काम गरेर पार्टीमा मिलाउने तयारी गरे उनी नै रहिरहन सक्छन् । विषेशगरी नेताहरुले ओलीले पार्टी र सत्तामा एकलौटी गरेको आरोप लगाउँदै गठजोड बनाइरहेका हुन् । तर, ओली सच्चिएनन् भने पासा पल्टिन सक्छ ।
नेता नेपाल र अध्यक्ष प्रचण्डबीच एउटाले सत्ता र अर्कोले पार्टी सञ्चालन गर्ने र ओलीलाई दुबै ठाउँबाट गलहत्याउने सैद्धान्तिक सहमति बनेको बताइन्छ ।
विशेषगरी ओलीले महामारीको बेलामा त्यसतर्फ विशेष ध्यान दिनु पर्नेमा नदिएर नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा हतारो गरेपछि नेताहरुले संका गरिरहेका छन् ।
यो बेलामा ओलीलाई सत्ताबाट गलहत्याउन भारतको पनि साथ रहने नेताहरुको आकलन छ । त्यसमा आइतबारबाट मात्रै केही समय मथ्थर भएको अमेरिकी सहयोग नियोक (एमसीसी) पनि ब्यूतिएकाले थप मलजल गर्ने देखिन्छ ।
अबको सत्ताको अवस्था कस्तो रहने भन्नेमा ओलीको नेतृत्वदायी र समन्वयकारी भूमिका कस्तो हुन्छ, त्यसले निर्धारण गर्नेछ ।
नेता नेपालले पनि समन्वय गर्न कत्तिको सक्छन् र ओलीसँग असन्तुष्ट बनेका नेताहरुको चित्त बुझाउन सक्छनकि सक्दैनन्, त्यसले उनी प्रधानमन्त्री बन्ने वा नबन्ने निक्यौल गर्छ ।
किनकि पहिला अडान लिने र अन्तिम अवस्थामा आएर खुट्टा कमाउने उनको बानीले नेताहरुले विश्वास गरिहाल्ने अवस्था नेपालले अहिलेसम्म सृजना गर्न सकेका छैनन् ।







