१२ वर्षको अवधिमा गणतन्त्रले नेपाल र नेपालीको मुहारमा कति क्रान्ति ल्यायो ? जनताले गरेका अपेक्षा कति पूरा भए ?

जनताका नजरमा दलहरु कति खरो उत्रिन सके ? यस्ता विषयमा विवेचना गर्न जरुरी छ । किनकि दशकौंदेखि झेलेका उत्पीडन, अन्याय र विकृतिको भुङ्ग्रोबाटै जनताले राजतन्त्रको विकल्प खोजेका हुन् । जनताले गरेका बलिदानकै जगमा गणतन्त्र स्थापना भएको हो

राजनीतिक विश्लेषक हरि रोका गणतन्त्रका लागि जनताले निकै ठूलो लडाई लडेको बताउँछन् । ‘दक्षिण एसियाली मुलुकमा हाम्रो गणतन्त्र कान्छो हो,’ उनले भने, ‘तर यसलाई हामीले सहजै प्राप्त गरेका भने होइनौं, जनताले निकै लामो लडाई लडेका छन् ।’

यो राजनीतिक परिवर्तनका लागि बाजेको पुस्तादेखि बाउको पुस्ता हुँदै आफ्नो पुस्तामात्र नभएर छोराको पुस्तालेसमेत संघर्ष गर्नुपरेको उनले बताए । ‘चार पुस्ताले संघर्ष गर्नु प¥यो,’ उनले भने, ‘किनकि राजाले पटक पटक जनताका अधिकार खोसे ।’ माओवादी जनयुद्ध र लोकतान्त्रिक पद्धतिका लागि लडेका पार्टीबीचको सहकार्यबाट गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले भने, ‘यसका लागि हजारौं मानिसले बलिदान गर्नुपरेको छ ।’

यो १२ वर्षमा शिक्षा, स्वास्थ्य, जीवनपद्धतिलाई सहजतातिर लैजाने दिशामा कमी कमजोरी देखिएको उनी बताउँँछन् । यसो हुनुमा गणतन्त्रपछि बनेका सरकारका नीति, कार्यक्रम, प्राथमिकता नै मुख्य कारक रहेको उनको भनाइ छ ।

स्रोत–साधन पर्याप्त भएर पनि देश गरिब भयो, गरिबका छोराछोरीलाई अरु देशमा गएर काम गर्नुपर्ने अवस्था बनाइयो भनेर नै त्यसबाट मुक्तिका लागि जनताले संघर्ष गरेको विश्लेषक रोका बताउँछन् । ‘सबैले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधा सहज पाउँछन्, पूँजी निर्माणमा सबै सहभागी हुन पाउने कल्पनाका साथ गणतन्त्रका लागि संघर्ष गरिएको हो,’ उनले भने ।

पछिल्ला दिनमा गणतन्त्रप्रति नै जनताको अविश्वास बढ्न थालेको हो कि भन्ने अवस्थासमेत देखिएको उनले बताए । ‘राष्ट्रपति, प्रधानमन्त्री सुख–सयलमा केन्द्रित भएको, अधिकार क्षेत्रभन्दा बढी फुई देखाएर हिँड्न थालेको, राष्ट्रप्रमुख र सरकारप्रमुखमा क्षमतावान मान्छे नभएको हो कि जस्तो पनि देखिन्छ,’ उनले भने, ‘समानता, सामाजिक न्याय, आर्थिक–सामाजिक विषयमा समान पहुँचजस्ता कुरा अहिले ओझेलमा परेका छन् ।’

दलहरुले निर्वाचनमा बाचा गर्ने तर निर्वाचनमा जितेपछि आफ्ना बाचा पूरा गर्नेतर्फ ध्यान नदिएको रोकाको भनाइ छ । उनले भने, ‘त्यसैले फेरि अर्को क्रान्ति गर्नुपर्ने पो हो कि भन्नेजस्तो देखिएको छ ।’

रातोपाटीले तयार पारेको रिपोर्टको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार