हामीले केवल गणतन्त्रका लागि मात्रै लडाइँ लडेका थिएनौँ । जनवादी गणतन्त्र भनेर लडाइँ लडेका थियौँ । जनवादी गणतन्त्र, समाजवादी गणतन्त्र हुँदै साम्यवादमा पुग्छौँ भन्ने लामो लक्ष्य लिएर हिँडेका थियौँ । यहाँसम्म कि नेपाली काँग्रेसको पनि प्रजातान्त्रिक समाजवाद भन्ने नारा चाहिँ थियो । तर मूल रूपमा नेपालमा गणतन्त्रकै मुद्दा बोकेर लडेको पार्टी भनेको कुनै समयमा रामराजप्रसाद सिंहले नेतृत्व गरेको जनवादी मोर्चा र नेकपा माओवादी नै हो । यी दुई पार्टीले सफा रूपमा गणतन्त्रको कुरा गरेका हुन् ।

अरू पार्टीहरु गणतन्त्रको पक्षमा पछि मात्रै पुगेका हुन् । जनवादी गणतन्त्र भनिसकेपछि स्वाभाविक रूपमा त्यो कसरी कायम हुन्छ ? त्यसका मूल्य, मान्यता र विशेषता हुन्छन् । अहिले हामी देख्छौँ, नेपालमा कम्युनिस्टहरूको शासन छ । कम्युनिस्ट पार्टी सरकारमा हुँदा जिल्ला र सहरहरुमा पुस्तकालय धेरै खुलेका छन् कि जिमखाना ? वा खेलकुद खेल्ने व्यायामशाला कि पूजा गर्ने मन्दिरहरू धेरै खुलेका छन् ? देख्दा त धेरै मन्दिरहरु खुलेको देखिन्छ । यसको अर्थ जनता त झनै डराएछन् । किनभने मानसिक रूपमा दुर्बल भएपछि मानिस बढी अन्धविश्वासी बन्छ । देउता, भूतप्रेत, पिशाच र बोक्सीको कुरा गर्न थाल्ने भनेको मानसिक रूपमा दुर्बल भएपछि नै हो । हामी आएपछि जनता मानसिक रूपमा एकदमै बलियो हुनुपर्ने । विवेकी हुुनुपर्ने, विज्ञान र डाटामा विश्वास गर्नुपर्ने तर विज्ञान र डाटा भन्दा धामीझाँक्री बोक्सी, प्रणामी, वैष्णव, गुम्बा, चर्च बनाउन थाल्छ भने बुझ्नुपर्यो कि शिक्षा र चेतनामा हामीले कुनै परिवर्तन ल्याएकै रहेनछाँै घरले समाजले । किनभने शिक्षा स्कुल वा कलेजमा मात्रै पढाइँदैन । स्कुल कलेजमा जब शिक्षाको सिस्टम र सोच फेरिन्छ, त्यसले समग्र समाजलाई फेर्छ । समाजको सोच पनि फेरिन्छ । ठाउँठाउँमा अहिले कोही कसैले स्कुल खोल्दैछ भने स्कुलको सहायता वा स्कुल बनाउने कुरा पनि गर्छन् । त्योसँगै छेउमा एउटा मन्दिर पनि नबनाइ भएको छैन भन्ने कुरा गर्छन् । भनेपछि हाम्रो शिक्षालयभित्र कस्तो शिक्षा चल्दैछ त ? अन्धविश्वासाई बढवा दिने, मान्छेलाई कायर बनाउने कि शिक्षामा नयाँ प्रणाली सुरु गर्ने ? अवश्य पनि हामीले नयाँ प्रणाली सुरु गर्नुपर्ने थियो, त्यो गर्न सकेनौँ । त्यसैगरी स्वास्थ्यमा नयाँ प्रणाली सुरु गर्नैपर्ने थियो ।

आज कोभिड–१९ को हाहाकार छ । हाम्रो देश कृषि र जडीबुटी प्रशस्त भएको देश । हिमालयका जडीबुटी र हजारौँ जातका जडीबुटी पाइने देशमा हामी आफैले एउटा स्वास्थ्य प्रणाली सुरु गरेको भए सायद हामी संसारलाई पनि केही दिन सक्थ्यौँ कि ? आज यत्रो आतङ्कको अवस्था पनि हुँदैन थियो । हाम्रा मानिसहरु यति धेरै बाहिर जानुपर्ने र बस्नुपर्ने पनि थिएन । हामीले देशलाई त्यसरी सम्पन्न तुल्याउन सकेको भए धेरै बाहिर गए ५० हजारसम्म पढ्नका लागि मानिसहरु बाहिर गएका हुने थिए, अरू नेपालमै हुने थिए ।

जनवादी गणतन्त्रलाई संस्थागत गर्ने र समाजवादतिर जाने भनेको त शिक्षा, स्वास्थ्य र कृषिमा परिवर्तन गरेपछि मात्रै हो । तर शिक्षा, स्वास्थ्य, कृषि उस्तै र पुरानै भएपछि त राजा नभए पनि रजौटाहरु त हुने नै भए । नवसामन्तहरु जन्मिने भए । फेरि कर्मचारीतन्त्र बदलिएर, फेरिएर जनताको आवश्यकता फेरिँदैनन् । तर नेतासँग नैैतिक बल छ भने त्यो फेरिन्छ । यसको सजिलो उदाहरण छ, नैतिक रूपमा असाध्यै बलियो कुनै नेताले देशमा उभिएर काठमाडौँ सफा गर्नुछ । त्यसैले यो बागमतीमा फोहोर नहालिदिनुस्, नफालिदिनुस् भन्ने हो भने बागमती छिट्टै सफा हुन्थ्यो । तर यहाँ त बागमतीमा फोहोर फालेको फाल्यै गर्ने अनि फोटो खिचाउनका लागि सफा गर्न जाने भएपछि बागमती कहिले हुन्छ सफा ? त्यसो गरेपछि त बागमती सफा गर्ने अभियान पनि सधैँ चल्ने बागमती फोहोर पनि सधैँ भइरहने हो, यस्तै भइरहेको छ । भन्ने, बोल्ने र गर्ने कुनै नेतामा त्यस्तो इन्टिग्रिटी र इमानदारिता छ भने त्यो नेता उभिएर बोलेपछि किन कसले मान्दैन ? त्यसकारण नेताले आफ्नो प्राधिकार वा नैतिक बल गुमाए भन्दा अतियुक्ति हुँदैन । कर्मचारीमा पनि त्यही अवस्था छ । घुस नखानुस् भनिएको छ तर कर्मचारी हाँस्छ ।

क्रान्ति निसन्तान हुँदैन । यसले आफ्नो जायज सन्तान प्राप्त गर्छ । यो पिढीले गरेन भने अर्को पिढीले ल्याउँछ । नयाँ पिढी भनेको खाली दारीजुँगा भनेको होइन, नयाँ विचार हो ।

हुन त हामी समाजवादका पनि चर्का भाषण गर्ने गर्छौं तर हामीले समाजवाद टेकेकै छैनौँ । हामी नवउदारवादमा हिँडिरहेका छौँ । यो नवउदारवाद १९७० बाट सुरु भएको हो । यसले विपन्नलाई कङ्गाल बनाइदिने, करोडपतिलाई अर्बपति र अर्बपतिलाई खर्बपति बनाइदिने, सबै रिसोर्सेजहरुलाई बिनास गर्ने बाटोमा छौँ हामी । त्यसकारण गणतन्त्र दिवसका बेला भन्नैपर्ने कुरा के हो भने शिक्षा, स्वास्थ्य लगायतका तमाम विषयहरु राज्यले लिनुपर्छ । नेपाल जस्तो देश समाजवादको बाटोमा हिँड्नुपर्छ ।

समाजवादको बाटोमा हिँड्न नचाहनेहरुले आफू जे हो त्यही भन्ने स्थिति बनाइदिनुपर्छ । हुन त अहिले सबैले आफूलाई समाजवादी भन्ने गरेका छन् । उनीहरुलाई यस्तो वैचारिक सङ्घर्ष चलाइदिनुपर्छ जसले भनून् कि हामी वास्तममै दलाल पुँजीपतिहरुको समर्थक हौँ ।  त्यो स्थिति ल्याउन वैचारिक र राजनीतिक सङ्घर्ष चलाउनै पर्छ ।

सत्ताधारी नेकपा नेता कार्कीसँग रातोपाटीले गरेको कुराकानीको छोटो अंश । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार