
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा बनाइसकेपछि निशाना छाप बनाउन त संविधान संशोधन गर्नुपर्यो नि ?
त्यो त यी राष्ट्रघातीहरुले के के गरे, के के ल्याए । त्यो नेपालमा लोडसेडिङ आएजस्तै आउने र जाने हो नेपालको भूमि ? नेपालको भूमि भनेको त नेपाली जनताको आत्मा हो । हिजो जसरी नेपालको नक्सामा नेपालको भूमि हटेको छ भने त्यो कसले हटाएको ? यिनै राष्ट्रघातीहरुले हटाएको होइन ? हिजोको नेपालको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा किन भएन ? कसले हटाएको ? त्यो भूमि हिजो कुन राष्ट्रघातीले हटायो ?
नेपालको त्यो भूमिका वर्षौंदेखि अर्को देशले बाटो बनाउँदा यी राष्ट्रघातीहरु कहाँ कानमा तेल हालेर सुतिरहेका थिए ? अनि अहिले आएर त्यो कुरा गर्ने ? यी नसलीय चिन्तन बोकेका राष्ट्रघातीहरु खोक्रा राष्ट्रवादका नारा दिइरहेका छन् । यो विषयमा अहिले नेपाली जनतालाई गुमराहमा राखिएको छ । आफ्नो देशको भूमि नक्साबाट हटाउने काम कसले गर्यो ? हिजो नेपालको नक्सा छाप्दा नेपाल सरकारले छापेको होइन ? अरुले छापिदिएको हो ? त्यसैले विगतमा यिनीहरुले नै राष्ट्रघाती काम गरे । अहिले पनि राष्ट्रघाती काम गरिरहेका छन् ।
अहिले पनि सीमा र जनता दुवै लिएर हिँडेर राष्ट्रिय सहमति बनाउनुपर्ने होइन ? यो सिमाविवाद मिलाउन हिमाल, पहाड, तराईका सम्पूर्ण जनताको भावनालाई समेटेर अगाडि जानुपर्ने होइन ? अहिले पनि यी राष्ट्रघातीहरु देश र जनतालाई छोडेर एकलौटी ढंगले जान खोजेका छन् त्यो हुँदैन । यिनीहरु जहिले पनि यस्तै गरिरहेका छन् ।
राजेन्द्र महतोसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीको छोटो अंश ।







