तत्कालै लकडाउन नखोल्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले अहिले तत्कालै लकडाउने खोल्ने दिशातर्फ कुनै पनि कदम नचाल्न निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानममन्त्रीले मन्त्रीहरुलाई लकडाउन र कोरोनाको बारेमा फेरि एक दुई दिनमै छलफल गरेर समीक्षा गर्नुपर्ने बताउँदै अहिलेलाई लकडाउन यथावत राख्‍न भनेका हुन् ।

त्यही अनुसार उच्चस्तरीय समितिले दुई दिनभित्रमा लकडाउन खुकुलो बनाउने कार्ययोजना तयार गर्ने भएको छ ।

एकजना मन्त्रीका अनुसार लकडाउन, कोरोना संकट, रोकथामका लागि भएका पहल र यसले पारेका विभिन्‍न प्रभावका पाटाहरुबारेमा बैठकमा विस्तृत छलफल भएको थियो ।

प्रधानमन्त्रीले बुधबार मात्रै देशका विभिन्‍न क्षेत्रका २५ जना विज्ञहरुसँग यसबारेमा छलफल गरेका थिए ।

बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नुपर्ने बताएका थिए । जनदबाब बढ्दै गएको र संकट पनि चुलिएको बताउँदै उनीहरुले लकडाउन खोल्नुपर्ने मत राखेपछि प्रधानमन्त्रीले एकदुई दिनमा यसबारेमा निर्णय गर्न सकिने बताएका हुन् ।

बुधबार विज्ञहरुसँग भएको छलफल अनुसार मन्त्रिपरिषद बैठकले विभिन्‍न क्षेत्रबाट लिइएको रायलाई पनि समेटेर लकडाउनको कार्यान्वयनबारे निर्णय गरिने भएको छ ।

कोरोना फैलिएका र नफैलिएका ठाउँहरुको पहिचान र मूल्यांकन गरेर लकडाउनलाई कडा र खुकुलो बनाउने जिम्मेवारी मन्त्रिपरिषद्ले उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार