
चिनियाँ अधिकारीहरूले अमेरिकालाई एक ‘द्वेध चरित्र भएको मुलुक’को रुपमा व्याख्या गरेका छन् । अहिले अमेरिकामा आन्दोलन दबाउन धेरै बल प्रयोग भइरहेको विषयलाई चिनियाँ मिडियाले स्थान दिएका छन् । अमेरिकाले वकालत गर्ने गरेको स्वतन्त्रता र प्रजातन्त्रको यसले खिल्ली उडाएको उनीहरूको विश्लेषण छ । जसको उदाहरणको रुपमा चिनियाँ सञ्चारमाध्यमहरूले अमेरिकाको आन्दोलनको विषयमा केही अफवाह पनि फैलाइरहेका छन् ।
अमेरिकाको जर्जियामा रहेको ग्लोबल कम्युनिकेसन युनिभर्सिटीकी सहायक प्राध्यापक मारिया रेप्निकोभाले चिनियाँ सञ्चारमाध्यमले अहिलेसम्म कुनै पनि घटनाको यति धेरै कभरेज नदिएको बताइन् । उनका अनुसार अमेरिकामा यो समस्या चीनले सिर्जना नगरेको कारण पनि उनीहरूले धेरै कभरेज दिएको तर चिनियाँ सञ्चारमाध्यममा हङकङमा भएको प्रदर्शनमा प्रहरीले दिएको निकै शान्तिपूर्ण जवाफको फोटो देखाइएको र अमेरिकामा भने प्रहरी ज्यादतीको फोटो प्रदर्शन गर्ने गरेको भन्दै उनले आलोचना पनि गरेकी छिन् ।
प्रेस स्वतन्त्रताको अधिकार नदिएको भन्दै चीनको लामो समयदेखि आलोचना हुँदै आएको छ । तर यस्ता कुरालाई चिनियाँ सञ्चारमाध्यमहरूले पनि त्यति धेरै महत्व दिँदैनन् । अमेरिकाको आन्दोलनको विषयमा भने चिनियाँ सामाजिक सञ्जालहरूमा पनि अहिले ठूलो चर्चा भइरहेको छ । उनीहरूले अमेरिकामा स्वतन्त्रता र प्रजातन्त्र नै जोखिममा रहेको भन्दै टिप्पणी गर्न थालेका छन् ।
अमेरिकामा हुने रङ्गभेदमा चीनको आलोचना
अमेरिकाको विरुद्धमा बोल्न अहिले चिनियाँ कूटनीतिज्ञहरूलाई एक महत्वपूर्ण कारण मिलेको छ । उनीहरूले अहिले अमेरिकाको सरकारको कमजोरीलाई देखाएर चीन विश्वको एक जिम्मेवार नेतृत्व दिन सक्ने मुलुक रहेको भन्दै वकालत गरिरहेका छन् । कोकास चीनले अमेरिकाविरुद्धको प्रोपोगाण्डा फैलाउने नीति कोरोना भाइरस (कोभिड–१९) को महामारीदेखि नै सुरु गरेको थियो । अमेरिका यो महामारी रोक्न असफल भएको अवस्थामा चीनले भने यसलाई नियन्त्रणमा लिएको थियो । चिनियाँ कूटनीतिक अधिकारीले अफ्रिकन युनियनका अधिकारीले ट्विटरमा अमेरिकामा भएको जातीय विभेद र प्रहरीको दमनको आलोचना गरेको ट्विट रिट्विट गरेका छन् ।
चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले ‘आई कान्ट ब्रेथ’ लेख्दै हङकङमा भएको आन्दोलनबारे अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ताले गरेको पोस्टलाई पनि सँगै राखेर पोस्ट गरेकी छिन् । यद्यपि उनले सबै काला जातिको जीवन महत्वपूर्ण भन्ने कुरालाई हटाउँदै सबैको जीवन महत्वपूर्ण छ भन्ने अर्को पोस्ट पनि गरेकी छिन् ।
यसैबीच चीनले पनि ग्वान्जाओमा अफ्रिकी नागरिकलाई विभेद गरेर सबैलाई कोरोना भाइरसबाट क्वारेन्टिनमा पठाएको समाचार आएको छ । तर चीनले भने यो घटनामा सरकारको गल्ती भएको नभई बुझाइ गलत भएको भन्दै आफ्नो बचाउ गर्दै आएको छ । त्यस्तै, चीनमाथि लाखौं उइगुर मुस्लिम समुदायको मानव अधिकारको उल्लङ्घन गर्दै आएको आरोप पनि छ ।
बढ्दो अमेरिकाविरोधी आवाज
अमेरिकामा सुरु भएको आन्दोलनले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा अमेरिकीविरुद्धको बहस चर्किएको छ । यससँग सम्बन्धित विषयले यससाता मात्र २५ अर्ब भ्यु पाइसकेको छ । यी विषय सबैभन्दा लोकप्रिय विषय बने । धेरै वेइबोका प्रयोगकर्ताले अमेरिकालाई नागरिकको बीचमा भड्किएको अशान्ति र हङकङ आदोलनको समर्थनका लागि बधाई दिएका थिए ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘अमेरिकाले विश्वभर हिंसा फैलाउँदै आएको थियो । अहिले अमेरिकी नागरिक जागरुक भएका छन् । अमेरिकी सरकार यसैको लागि लायक छ ।’
यसैबीच केही प्रयोगकर्ताले भने अमेरिकाको आदोलनबारे दुःख व्यक्त गरेका छन् । अमेरिकामा सीएनएनका पत्रकार पक्राउ परेको भिडियोमा प्रतिक्रिया जनाउँदै एक प्रयोगकर्ताले अमेरिकामा मानव अधिकार र प्रजातन्त्रको अन्त्य हुन गइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।
धेरैले अहिले अमेरिकामा भइरहेको आन्दोलनको समर्थन गरेका छन् । धेरै पुस्तासम्मको लडाइँमा रङ्गभेदविरुद्ध केही हात नपरेको भन्दै उनीहरूले यसपटकको आन्दोलनलाई फलदायी बनाउनुपर्ने धारणा राखेका छन् । केही मानिसले चीनको कमजोरीको विषयमा पनि प्रतिक्रिया जनाएका छन् ।







