
समाजवादी पार्टीले महन्ठ ठाकुर अध्यक्ष, डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहने प्रस्तावमा अडान लिएर बसेको थियो । त्यसमा तत्कालिन राजपा नेपालका नेताहरु खासगरि रोजेन्द्र महतोले समाजवादी पार्टीबाट दुईजना रहने हो भने राजपा नेपालबाट पनि दुईजना रहने अडान लिएका थिए ।
र, त्यहीँ लफडामा यत्रो समय लागेको थियो । अव प्रश्न उठ्छ त्यतिबेला चाहीँ बाबुरामले किन त्याग देखाएनन् ? महन्थ ठाकुर र उपेन्द्र यादवलाई अध्यक्ष राखेर अगाडि बढ्ने विषयमा छलफल भएकै हो । त्यतिबेला बाबुराम भट्टराई टसमस भएका थिएनन् । तत्कालिन समाजवादी पार्टीका एक नेताका अनुसार त्यतिबेला उनले तपाईँहरुलाई जे जे गर्नुछ गर्नुस् आफू संघीय परिषद् अध्यक्षमै ठीक रहेको धारणा राखेका थिए ।
कुराकानी र छलफलका क्रममा उनले आफू वरियताक्रमको दोस्रो नम्बरमा बस्ने स्वीकार गरिसकेका पनि थिए । दुई पक्षबीच पटक पटक बसेको बैठकमा उठेको यो कुराबारे दुवै दलका नेताहरुलाई थाहा नहुने कुरै भएन । बैशाख १० गते मध्यराति दुई दलको बीचमा एकीकरण हुँदा पनि महन्थ ठाकुर एक नम्बरमा र बाबुराम दोस्रो नम्बरमा रहने सहमति भएको थियो । यो कुरा त्यतिबेला सहमति गर्ने बैठकमा बसेका सबै नेताले भन्ने गरेका छन् ।
निर्वाचन आयोगमा दल दर्ता गराउन आइतबार दिनभर यसै विषयमा छलफल भयो । उनकै उपस्थितिमा निर्वाचन आयोगमा पेस गर्ने निवेदन पनि तयार भयो । केही नेताहरु दर्ताको प्रकृयाका लागि निर्वाचन आयोग पनि पुगिसकेका थिए । अरु शीर्ष नेताहरु पनि जाने तयारीमा थिए तर अचानक बाबुरामलाई किन संघीय परिषद्को अध्यक्ष पद त्याग गरेर वरिष्ठ नेतामै बस्ने विचार आयो ? धेरैले यो प्रश्न गर्न थालेका छन् । तीनै अध्यक्ष रहने, तीनैजनाको हैसियत बराबर रहने कुरामा सहमति भएको थियो नेताहरुले ताली बजाएर सहमतिको स्वागत गरेका थिए ।
तर अचानक डा.बाबुराम भट्टराईको मन कसरी परिवर्तन भयो, यो खोजी र अनुसन्धानको विषय बन्न सक्छ तर बाबुराम भट्टराईका सचिवालयले यो बाबुरामको त्याग नै हो भनेको छ । उनका निकटका नेताहरुले पनि बाबुरामलाई त्यागी भनेका छन् । उच्च सम्मान दिनुपर्ने भनेका छन् ।
नेकपाका नेता खिमलाल देवकोटाले समेत पार्टी एकताको मिसन सफल बनाउन त्याग गरेको धारणा राखेका छन् । विचार मिल्ने तर भागबण्डा नमिल्दा एकता भाडिएका थुप्रै उदाहरण भएका ठाउँमा नकारात्मक टिप्पणी गर्नुको अर्थ नरहने भन्दै उनले बाबुरामलाई बधाई पनि दिएका छन् ।
यसैगरी मधेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले पनि बाबुरामले ठूलो त्याग गरेको बताएका छन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्,–म डाक्टर बाबुराम भट्टराईजीसँग लगभग ३८ वर्षदेखि परिचित छु । उहाँको सबै विचार र कार्यसँग सधैं सहमत हुन सकिएन र यो सम्भव पनि हुँदैन । बहुत नजिकबाट उहाँको राजनीतिक र सामाजिक गतिविधिहरु हेर्ने कोसिस गरिरहेको हुन्छु । हिजो जनता समाजवादी पार्टीको वरियता क्रममा उहाँको नाम चौथो देखेर धेरै प्रतिक्रिया र खासगरी एमाले र माओवादी नेता र कार्यकर्ताहरुको देखिएको छ। राजनीतिमा पदीय मर्यादाक्रम हुनु हुँदैन।’
मधेसी, दलित र जनजाति समुदायलाई एकै ठाउँमा ल्याएर नेपालमा सदियौंदेखिको विभेदलाई अन्त्य गर्दै सबै पछाडि पारिएका समुदायलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याउने प्रयास अत्यन्त महत्वपूर्ण ऐतिहासिक रहेको भन्दै उनले बाबुरामको प्रसंशा गरेका छन् ।
त्यस्तै, वरिष्ठ पत्रकार सीताराम आग्रहरीले पनि बाबुरामले पार्टीमा त्याग देखाएको धारणा राखेका छन् । उनले भनेका छन्, ‘बाबुरामको कमजोरीहरु छन्, सबभन्दा त संविधान निर्माणकै बेला हो। संविधान घोषणाको पूर्व सन्ध्यामा मेरे अगुवाईमा मधेशी बुद्धिजीवीहरुको प्रतिनिधिमण्डलको प्रश्नको उत्तरमा जे भन्नुभाको थियो, सुनेर हामी स्तब्ध भयौ । उहाँले भन्नुभो, पोल्टाको टिप्न जाँदा भूँईको पनि खस्नसक्छ।’ साँच्चिकै नयाँ हृदय लिएर नयाँ बाबुराम बनेर आएको उनले बताएका छन् ।
अर्का पत्रकार चन्द्रकिशोरले पनि बाबुरामको प्रसंशा गरेका छन् । उनले भनेका छन्, ‘डा. बाबुराम भट्टराईसँग असहमति हुनसक्छ, आलोचना गर्न सकिन्छ, तर उहाँले आँधीको गोलचक्करबाट जनता समाजवादी पार्टी निर्माणको क्रममा आफूलाई मुक्त राख्नु प्रसंशनीय हो ।’







