
कुनै निश्चित लक्ष्य प्राप्तिको सु-स्पस्ट योजनालाई कार्यदिशा भनिन्छ । कार्यदिशा दुईवता हुन्छन् , एक: राजनैतिक कार्यदिशा र दुई : फौजी कार्यदिशा । माओ भन्नुहुन्छ : “कार्यदिशा सहि या गलत हुनुले नै सबै कुराको निर्क्योल गर्दछ ” । कार्यदिशा सहि छ भने हामीसँग नभएका सबै चिजहरु (जनता ,नेता, कार्यकर्ता,संगठन,सेना ,सत्ता ) प्राप्त हुदै जान्छन्। तर कार्यदिशा गलत छ भने हामीसँग भएका सबै चिजहरु (जनता,नेता, कार्यकर्ता,संगठन,सेना,सत्ता ) सबै गुम्दै जान्छन्।
एउटैं लक्ष प्राप्तिको कार्यदिशा पनि देश,काल र परिस्थिति अनुसार फरक फरक हुनसक्दछ । बिकसित पुँजीवादी देशहरुमा गरिने समाजवादी क्रान्तिका कार्यदिशाहरु सबै तिर एउतै नहुन सक्दछ । त्यस्तै अर्धसामन्ती तथा अर्ध औपनिवेशिक मुलुकहरुमा गरिने नयाँजनवादी क्रान्तिको कार्यदिशा पनि फरक फरक देश, काल र परिस्थिति अनुसार फरक फरक हुन सक्दछन । नेपालमा ०५२ मा सुरु गरियको नयाँ जनवादी क्रान्तिको फौजी कार्यदिशा ‘ दृघकालिन जनयुद्ध ‘ को कार्यदिशा थियो । चीनमा १९४९ मा माओत्सेतुङ्को नेतृत्वमा गरियको दृघकालिन जनयुद्धको फौजी कार्यदिशा पनि त्यही प्रकारको कार्यदिशा थियो । दृघकालिन जनयुद्धको कार्यदिशामा गाउ अग्र भाग र शहर पृष्ठ भाग हुन्छ ! किशानहरु अघिल्लो मोर्चामा र मजदुरहरु पछिल्लो मोर्चामा हुन्छन ।
अल्पकालीन सशस्त्र जनबिद्रोहको कार्यदिशामा शहर अग्र भाग र गाउ आधार भाग हुन्छ। अल्पकालीन सशस्त्र जनबिद्रोहको कार्यदिशामा मजदुर अघिल्लो मोर्चामा र किशान पछिल्लो मोर्चामा हुन्छन । अहिले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको निम्ति नेपाली सर्वहारा बर्गको प्रतिनिधि संगठन नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले निश्चित गरेको फौजी कार्यदिशा भनेको ‘नेपालको मौलिकतामा आधारित सशस्त्र जनविद्रोह ‘ को कार्यदिशा हो । कार्यदिशाको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी ) को दस्तावेज बोल्छ ” अहिले देश आर्थिक तथा सामाजिक रुपमा अर्धसामन्ती तथा अर्ध / नव औपनिवेशिक अवस्थामा छ ! देशको आधारभूत अन्तरविरोध एकातिर घरेलु प्रतिकृयावाद तथा साम्राज्यवाद / विस्तारवाद र अर्को तिर साम्राज्यवाद / विस्तारवाद तथा नेपाल रास्ट्रका बिचमा छ । यस स्थितिमा पार्टीको न्युनतम कार्यक्रम नयाँ जनवाद र अधिकतम कार्यक्रम समाजवाद तथा साम्यवाद हुनेकुरा प्रस्ट छ ।
त्यसैगरी पार्टीको सामरिक कार्यदिशा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह हुनेछ ” नेपालको बर्तमान सन्दर्भमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको निम्ति यहि कार्यदिशा नै बैज्ञानिक कार्यदिशा हो । १९१७ मा लेनिनको नेतृत्वमा सम्पन्न महान अक्टोवर समाजवादी क्रान्ति अर्थात रुसी जनविद्रोह संग मिल्दोजुल्दो तर केहि भिन्न ढंगको जनविद्रोह नै नेपाली मौलिकतामा आधारित सशस्त्र जनविद्रोहको सार हो । रुसी जनविद्रोहमा मजदुर अगाडी र किशान पछाडी थिए । शहर अगाडी र गाउ पछाडी थियो । त्यो त्याहाको मौलिकता थियो ! रुसी जनविद्रोहको उद्देस्य तत्कालिन रुसी परिस्थिति अनुसार त्याहा समाजवाद स्थापना गर्नु थियो । नेपाली जनविद्रोहको उद्देस्य नेपालको बर्तमान परिस्थिति अनुसार याहा नयाँ जनवाद हुदै समाजवाद स्थापना गर्नु हो । नेपाली सशस्त्र जनविद्रोहमा सिद्धान्तत : शहर अग्रभाग र गाउ आधार भाग हुन्छ।सोहीअनुसार मुख्य काम शहरमा र आधारभूत काम गाउमा हुन्छन ।
स्थानीय रुपमा जनसत्ता निर्माण र केन्द्रीय रुपमा सर्वहारा वर्गको नयाँ राज्यसत्ता स्थापनाको निम्ति आधार निर्माणका काम हुन्छन् । संघर्षका स्वरुपको सम्बन्धमा शान्तिपूर्ण र सशस्त्र दुवै हुन्छ त्यसमध्य सशस्त्र संघर्ष नै संघर्षको मुख्य रुप हुन्छ । आवस्यक तालमेलका साथ सांगठनिक कामहरु खुला तथा भूमिगत ढंगले हुन्छन । क्रान्तिका तिन जादुगरी हतियारहरु पार्टी,सेना र संयुक्त मोर्चालाई पार्टीको कमाण्ड अन्तर्गत क्रान्तिको आवस्यकता अनुसार संगठित र परिचालित गरिन्छ । रास्ट्रिय तथा अन्तरास्ट्रिय कामको समुचित तालमेल हुन्छ । अन्तरास्ट्रिय कामका रुपमा विश्वका भाईचारा संगठन र मित्र शक्तिहरु संग सम्बन्ध स्थापित गर्ने त्यसलाई सुद्रिध र समृद्ध गर्ने काम गरिन्छ ।
नेपाली जनविद्रोहमा नेपालको वर्तमान विशेषताअनुसार विद्रोहको विभिन्न चरणमा मजदुर, किसान र शहर, गाउ आवश्यकताअनुसार मुख्य भूमिकामा रहन सक्दछन । र, नेपाली जनविद्रोह नेपाली क्रान्तिको आवस्यकतामा रुसी विद्रोहमा जस्तो अल्पकालीन नहुनपनि सक्दछ । शहरको भूमिका विशेष हुदाहुदै गाउको भूमिका पनि महत्वपूर्ण हुन्छ । मजदुरको भूमिका महत्वपूर्ण हुदाहुदै किशानको भूमिका पनि विशेष प्रकारको हुन्छ । त्यसकारणले नै नेपाली क्रान्तिको निम्ति यो कार्यदिशाको नाम ‘नेपालको मौलिकतामा आधारित सशस्त्र जनविद्रोह’ नामाकरण भयो ।







