धेरैलाई लाग्न सक्छ, यति खतरनाक भाइरसहरुको खानी चमेराको मानिसलाई के काम ! यसको उत्तर थाहा पाउन चमेराले मानवजातिमाथि लगाउने गुणहरुको बारेमा पनि थाहा पाउनु जरुरी हुन्छ ।

वास्तवमा, चमेराले मानवजातिका लागि अत्यन्तै हानिकारक मानिने कीरा फट्यांगहरु खाने गर्छन् । त्यसरी उसले प्रकृतिमा सन्तुलनको वातावरण कायम गर्ने भूमिका निर्वाह गरेको हुन्छ । चमेरा नहुँदो हो त संसारमा कीरा फट्यांग्राहरुको प्रकोप अकल्पनीय ढङ्गले बढेर जान्थ्यो ।

त्यसैगरी, चमेराले परागसेचनको काम पनि गरिरहेको हुन्छ । त्यसले गर्दा चमेराले थुप्रै अन्नबाली, फलफूल तथा बोटविरुवाहरु उम्रन, हुर्कन र फल्न–फुल्नमा पनि सहयोग गरिरहेको हून्छ ।

चमेराको अर्को उपयोगी पक्ष भनेका भाइरस तथा रोगप्रतिरोधी यसको क्षमता पनि हो । यसको अध्ययनबाट मानिसले विभिन्न घातक रोगहरुबाट कसरी बच्ने भन्ने कुरा पनि सिक्न सक्छौं ।

फेरि मानिसलाई सताउने भाइरसहरुको सबैभन्दा ठूलो स्रोत चमेरा हैन, मानिस आफैं हो । मानिस जातिले जीवजन्तुहरुको प्राकृतिक वासस्थानको अन्धधुन्ध विनाश गर्नु अहिले विभिन्न भाइरसहरुको महामारी फैलिनुका कारणहरुमध्येका प्रमुख कारण हो ।

चमेराले सोझै मानिसमा आएर भाइरस सार्ने होइन । वास्तवमा, चमेराको वासस्थानसम्म मानिसहरुको बस्ती बढ्दै जाँदा चमेराबाट यी भाइरसहरु मानिसमा सर्ने क्रम बढेको हो । उदाहरणको लागि, निपा भाइरसको संक्रमण फैलिनुको एउटा प्रमुख कारण पनि मलेशियामा चमेराको वासस्थान छेउछाउसम्म मानव बस्ती फैलिँदै जानु पनि हो भन्ने मानिन्छ । त्यसै गरी, अस्ट्रेलियामा हान्ड्रा भाइरसको संक्रमण देखापर्नुृको कारण पनि मानव वस्तीको अनियन्त्रित विस्तारले चमेराको वासस्थानलाई विथोल्नु पनि मानिएको छ ।

रातोपाटीले तयार पारेको रिपोर्टको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार