भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठकै नेतृत्वमा नपामा संस्थागत भ्रष्टाचार बढिरहेको भन्दै नपाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित आठजना नगर कार्यपालिकाका सदस्यहरु विरोधमा उत्रिएका छन्।

उनीहरुले कार्यपालिकाको बैठकबाट निर्णय नै नगराई आफ्नो ठाडो आदेशमा २० जना नगर प्रहरीलाई नियुक्ति दिएर नगर प्रमुख श्रेष्ठले आर्थिक लाभ लिएको आरोपसमेत लगाएका छन्।

उप्रमुख मधिकर्मीले शुक्रबार नपाको प्रवेशद्वारमै पत्रकार सम्मेलन गरेर नपाअन्तर्गत सञ्चालन हुँदै आएको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई सीधै ६ करोड रुपैयाँ निकाशा दिएर प्र्रमुख श्रेष्ठले भ्रष्टाचार, अनियमितता र आर्थिक चलखेललाई संस्थागत गरेको आरोप लगाइन्।

उनका अनुसार नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल गठन आदेश अहिलेसम्म स्वीकृत भएको छैन। उक्त आदेश स्वीकृत नहुँदै प्रमुख श्रेष्ठले अवैधानिक रुपमा ज्ञानकृष्ण कायस्थलाई कार्यकारी निर्देशक नियुक्त गरिएको नपाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापामगरले बताए।

अवैधानिक कार्यकारी निर्देशक कायस्थमार्फत नै प्रमुख श्रेष्ठले अस्पतालमा संस्थागत भ्रष्टाचार गर्दै आएको उनको आरोप थियो।

‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ऐनबाट व्यवस्थापन हुनुपर्छ’, वडा अध्यक्ष थापामगरले भने, ‘त्यस्तै अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा प्रमुख श्रेष्ठले भ्रष्टाचार गर्न नपाउने तथा आर्थिक चलखेल गर्न नपाउने देखेर कार्यविधि बनाउनेतर्फ ध्यान दिएका छैनन्।’

उनले नपाले भुक्तानी दिने गरी प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, अवैधानिक कार्यकारी निर्देशक कायस्थ, मेडिकल डाइरेक्टर डीके रौशन र रोटरी क्लवबीचमा सामान खरिद गर्ने गरी अवैधानिक सम्झौता गरिएको समेत जानकारी दिए।

नगर प्रमुख श्रेष्ठविरुद्ध उभिएका आठजना नगर कार्यपालिका सदस्यहरुले नपाभित्र मौलाएको संस्थागत भ्रष्टाचारविरुद्ध कानुनी उपचारमा जानेसमेत चेतावनी दिएका छन्। उनीहरुले कानुनी उपचारसँगै नपाभित्रको आर्थिक भ्रष्टाचारजन्य कार्य र आर्थिक हिनामिनाको सबै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपप्रमुख मधिकर्मीको साथमा वडा अध्यक्ष थापामगरसँगै ३ नम्बर वडाका अध्यक्ष प्रेमबहादुर कुटू, नगर कार्यपालिका सदस्यहरु सुजाता बाडे, विनु केसी, अरुणा कारञ्जित, चन्द्रावती मिजार र विष्णु परियार रहेका छन्। उनीहरु सबै नेपाली कांग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरु हुन्।

त्यस्तै नगर प्रमुख भने तत्कालीन एमालेको तर्फबाट निर्वाचित भएका हुन्। मध्यपुर थिमि नपाका नगर प्रमुख श्रेष्ठसँगै वडा नं. ५ का एमालेबाट अमृतमान श्रेष्ठ निर्वाचित भएका थिए। वडा नं. ७ मा स्वतन्त्र उम्मेदवार कृष्णकुमार प्रजापति र वडा नं. ८ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट देवकृष्ण मोय श्रेष्ठ निर्वाचित भएका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार